सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने रणनीति अनुसार सकारले यही हप्ताभित्र चीनबाट ४४ लाख मात्रा खोप ल्याउने सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज मसान्तसम्ममा कुन जनसङ्ख्याको एक तिहाइ, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने योजना सरकारले बनाएको छ ।
त्यसैअनुसार ४४ लाख मात्रा खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जादैछ र आउँदो शुक्रबारसम्म सम्झौता अनुसारको सबै खोप नेपाल ल्याइसक्ने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा सागर दाहालले बताउनुभयो । महाशाखाले वैदेशिक रोजगारीमा जानेहरूलाई एकै मात्रा लगाए पुग्ने जानसिन खोप भने सकिएको बताएको छ ।
खोपको बारेमा जानकारी लिएर मात्रै वैदेशिक रोजगारीको प्रक्रिया सुरु गर्न पनि प्रमुख दाहालले अनुरोध गर्नुभयो । १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख मात्रा मोडर्ना खोप ल्याउने टुङ्गो लागिसकेको पनि स्वास्थ्य मन्त्रालयको भनाइ छ । ६० लाख माा फाइजरको खोप ल्याउने प्रक्रिया पनि मन्त्रालयले अघि बढाइसकेको जनाएको छ ।
सीआईएनसँग कुराकानी गर्दै सङ्क्रामक रोग विशेषज्ञ डा विराज कर्माचार्यले कोरोनाबाट जोगिनका लागि खोप नै सबैभन्दा उत्तम विकल्प भएको बताउनुभयो । नेपालमा कोरोनाविरुद्धको पूरा मात्रा खोप लगाउनेको सङ्ख्या १७.४१ प्रतिशत पुगेको छ भने पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या १९.४५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना सङ्क्रमण पुष्टि हुने दरमा कमी आएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ९ सय ५८ रहेको छ । एक साता अघि नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार ९ सय ७३ रहेको थियो ।