तीजको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

तीजको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ ।सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको भन्दै उहाँले पर्वको मौलिकता कायम राख्न पनि आग्रह गर्नुभयो ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसको सङ्क्रमण देशव्यापी फैलिएको अहिलेको प्रतिकूल अवस्थामा घरैमा बसेर तीज पर्व मनाउन सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ ।उहाँले विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकाले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि आग्रह गर्नुभयो ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिकातीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने उहाँले शुभकामना दिनुभएको छ । कोभिड–१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ मनाउन नपाए पनि महामारीको यस अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै हरितालिका तिजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन प्रधानमन्त्री देउवाले अनुरोध गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार