आज हरितालिका तीज पर्व, महादेवको पूजा आराधना गरी मनाइँदै

आज हरितालिका तीज पर्व, महादेवको पूजा आराधना गरी मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ ।सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकोले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर, यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।

तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण अघिल्लो वर्ष तीजमा कुनै भीडभाड थिएन ।

यो वर्ष भने सरकारले सामूहिक भेला हुनबाट रोकेको छैन । पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । तर, जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सरकारले आग्रह गरेको छ ।तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार