आज २ हजार ७५ जना कोरोना सङ्क्रमित थपिए, २ हजार ३ सय ८२ जना निको भए

आज २ हजार ७५ जना कोरोना सङ्क्रमित थपिए, २ हजार ३ सय ८२ जना निको भए

पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । थप २ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् ।

कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ । थप २ हजार ३८२ जना निको हुँदा नेपालमा हाल सम्म कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

नेपालमा निको हुने दर ९३ दशमलब ३ प्रतिशत रहेको छ । यही अवधिमा थप ३० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ४८५ जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६३ हजार ९६३ जनाले खोप लगाएका छन् । हालसम्म ४९ लाख ३५ हजार ५६ जनाले एक डोज खोप लगाएका छन् भने ३८ लाख ३५ हजार ६०८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

यसैबीच, जापानले अनुदानमा पठाएको कोरोना विरुद्धको दुई लाख डोज खोप नेपाल आइपुगेको छ । जापान सरकारले १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये आज २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको हो ।

यसअघि ९ लाख डोज खोप प्राप्त भइसकेको छ । बाँकी खोप भोली र पर्सि सम्म प्राप्त हुने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार