दाङको तुल्सीपुर उप महानगरपालिकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती

दाङको तुल्सीपुर उप महानगरपालिकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती

स्वास्थ्य समाचार
दाङको तुल्सीपुर उप महानगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांक अनुसार उपमहानगर पालीकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती भएका छन् । यो तथ्यांक हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको शाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताए ।
चालु आर्थिक वर्षको आठ महीनामा ३सय ७५ किशोरी गर्भवती जाँच गर्न आएको केसीको भनाई छ ।

साथै चालु आर्थिक बर्षमा २० वर्ष भन्दामुनिका १७ जनाले गर्भपतन गराएका छन् । अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुनसकेको छैन, गर्भपतन र अस्थायी साधन प्रयोगगर्ने किशोरीहरुलाई हेर्दा डरलाग्दो स्थीति छ केसीले भने । अहिले उप महानगरपालीका भित्रका शहरी स्वास्थ्य क्लिनिकहरुको तथ्यांक हेर्ने हो भने २० वर्ष भन्दा मुनिका ११ जनाले पिल्स, १सय ८३ जनाले डिपो, ८२ जनाले इम्पलान्ट, आठ जनाले आइयुसिडी जस्ता अस्थायी साधनहरु प्रयोग गरीरहेका छन् ।

स्वास्थ्य शाखाका अनुसार अस्पताल गएर गर्भवती हुनेको सङ्ख्या भने बढ्दै गएको पाइएको छ । शाखाका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म एक हजार २सय ८९ जना महिला अस्पताल गएर गर्भवती भएका छन् । उक्त तथ्याङ्क अनुसार एक हजार ८२ सामान्य, १४ को उल्टो बच्चा भएको, भ्याकुम मार्फत ११, अप्रेसन गरेर ७७ र जन्मेकामध्ये आठको मृत्यु भएको छ ।

एकदमै कम तौल १ दशमलव ५ केजी भएका बच्चा पाँचजना जन्मिएका छन् । धेरै महिलाले स्तनपान नगराउने तथा उमेर नपुग्दै बच्चालाई खाना खुवाउने गरेको पाइएको समेत उनले जानकारी दिए । बच्चालाई दुई वर्षमा २४ पटक तौल जाँच गर्नुपर्ने भए पनि अहिले पनि त्यसो नगरेको पाइएको उनको भनाइ छ । अहिले उपमहानगरका १९ वटै वडामा स्वास्थ्यको पहुँच भए पनि आवश्यक जनशक्ति नहुँदा समस्या हुने गरेको केसीले बताए ।

उपमहानगर स्वास्थ्य शाखा प्रमुख डा। गोकर्ण दाहालले अझै पनि वैज्ञानिक आधारबिनाको उपचार पद्दतिले जरो गाडिरहेको बताउछन् । अन्धविश्वासका कारण स्वास्थ्य संस्थामा नियमित उपचार गराउन महिलाहरु नआउने गरेको दाहालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार