भारतबाट आएका बिरामीका कारण दाङमा औलोको जोखिम

भारतबाट आएका बिरामीका कारण दाङमा औलोको जोखिम

स्वास्थ्यसमाचार

विदेशबाट आउने बिरामीका कारण दाङमा औलोको जोखिम रहेको पाइएको छ । सरकारले नेपालमा औलो रोग निवारण गर्न विभिन्न गतिविधि सञ्चालन गरे पनि तराईका सिमावर्र्ती जिल्लामा भारततर्फबाट आउने बिरामीका कारण यो रोगको जोखिम कायमै रहेको हो । सन २०१२ यता नेपालमा औलो रोगका कारण कसैको मृत्यु भएको छैन । तर, प्रत्येक वर्ष बिरामी भेटिएका छन् । जिल्ला जनस्वास्थय कार्यालय दाङका अनुसार खुला सिमाका कारण भारतबाट बिरामी आवतजावत गरेका कारण जोखिम कायम रहेको हो । सरकारले भने सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त बनाउने लक्ष्य लिएको छ ।

प्रत्येक वर्ष औलोका बिरामी विदेशबाट आउने धेरै
दाङमा औलेका बिरामीमध्ये प्रत्येक वर्ष विदेशबाट आउनेको संख्या धेरै छ । दाङमा मात्रै चालू आर्थिक वर्षको  नौ  महिनामा आठजना औलो रोग लागेका बिरामी भेटिएका छन् । जसमा ६ जना बाह्य देशबाट फर्केकाहरू रहेका छन् । बाँकी दुईजना जिल्लाभित्रकै रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका औलो रोगका निरीक्षक कमल चन्दले बताए  । गत आर्थिक वर्ष दाङमा २७ जना औलो रोग लागेका बिरामी फेला परेका थिए ।

जनस्वास्थ्य कार्यालयका अनुसार २४ जना भारतलगायत देशबाट फर्किएका र अन्य तीनजना जिल्लाभित्रकै थिए ।  आर्थिक वर्ष ०७३/७४ मा पनि ३४ औलो रोगी भेटिएकोमा ३१ विदेशबाट आएका र तीन स्थानीय रहेका थिए । आर्थिक वर्ष ०७२/७३ मा पनि २७ जना औलोरोगी दाङमा फेला परेकोमा २४ जना आयातित र तीनजना मात्रै स्थानीय थिए । सन् २०१५ को  तथ्यांकअनुसार नेपालभरि एक हजार तीन सय ८६ जनामा औलो  रोग देखिएकोमा झन्डै  सात सय बिरामी भारतबाट फर्केकाहरू थिए । ‘भारतलगायतका देशमा काम गर्न गएकाहरू नेपालमा आउँदा औलो रोगका बिरामी भएर आएको पाइएको छ,’ निरीक्षक चन्दले भने ‘आयातित बिरामीका कारण यो रोग निवारण हुन सकेको छैन ।’

औलो निवारणमा चुनौती 
यसरी भारतबाट आउनेहरूका कारण औलो  रोग निवारणमा चुनौती रहेकोे  सम्बन्धित अधिकारीहरूले  बताएका छन् । भारतमा औलो  निवारणको  प्रभावकारी कार्यक्रम नचलेका कारण पनि त्यहाँबाट आएकाहरूमा बढी समस्या देखिएको  छ । ‘धेरै हदसम्म सफलता प्राप्त भएको छ । तर, पूर्णरूपमा निवारण हुन सकेको छैन, जोखिम ग्रस्त स्थानमा गर्मी मौसम सुरु भएसँगै झुल वितरण पनि गरेका छौँ,’ जिल्ला जनस् वास् थ्य कार्यालय दाङका प्रमुख केशवराज पण्डितले भने, ‘व्यक्ति स्वयं नजाग्दासम्म यो रोग निवारणमा पूर्ण सफलता प्राप्त गर्न सकिने सम्भावना छैन ।’ नेपालका स्वास्थ्य निकायहरूमा राखिएको  आरडिटीबाट १० मिनेटमै  यो  रोग पत्ता लगाउन सकिन्छ ।

ग्रामीण भेगमा जोखिम बढ्दै
लामखुट्टे बढी हुने भएका कारण विगतमा सहरी क्षेत्रमा औलो रोगको जोखिम भए पनि अहिले ग्रामीण क्षेत्रमा यसको जोखिम देखिन थालेको जनस्वास्थय कार्यालय दाङले जनाएको छ । औलो रोगको उच्च जोखिम भएको क्षेत्रका रूपमा मानिने घोराही उपमहानगरपालिकाको १५ नम्बर वडामा यो वर्ष औलोको उच्च जोखिम रहेको छैन । तर, राप्ती, बबईलगायत गाउँपालिकाका ग्रामीण क्षेत्रमा औलो रोगको जोखिम देखिन थालेको चन्दले बताए ।नयाँ पत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार