कोरोना सङ्क्रमितले गलत विवरण दिँदा पहिचान गर्न सकिएन

कोरोना सङ्क्रमितले गलत विवरण दिँदा पहिचान गर्न सकिएन

हाल दैनिक सरदर २ हजारका दरले कोरोनाका नयाँ सङ्क्रमित थपिने गरेका छन् । कोरोना फैलावटको चेन तोड्न कन्ट्रयाक ट्रेसिङ अर्थात सङ्क्रमितको पहिचान महत्वपूर्ण छ । तर सङ्क्रमितले गलत विवरण दिँदा सहि पहिचान नहुने र समुदायमा फैलने क्रम रोकिएको छैन । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना सङ्क्रमितहरुको विवरण सही पठाउन प्रयोगशालाहरुलाई बारम्बार अनुरोध गर्दै आएको छ । रिपोर्टमा सङ्क्रमितको ठेगाना र अरु विवरण सहि नहुँदा पहिचानमा समेत समस्या भएको छ ।

प्रदेश नम्बर १ को जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयेन्द्र यादवले दैनिक ३ सय को हाराहारीमा कोरोनाको परिक्षण भइरहेको प्रदेश नम्बर १ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोना पुष्टि भएकामध्ये १ प्रतिशतको विवरणमा कुनै न कुनै त्रुटि हुने गरेको बताउनुभयो । रुपन्देहीको प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा पनि स्थानीय तह र विभिन्न स्वास्थ्य केन्द्रबाट परिक्षणका लागि सङ्कलन भएर आएका व्यक्तिहरुको परिचय पत्र अनुसारको नाम, ठेगाना र फोन नम्बर मिल्दैन ।

जसले गर्दा सङ्क्रमितको पहिचान मात्रै होइन, बीमा भुक्तानीका लागि पनि समस्या आउने गरेको जनस्वास्थ्य प्रयोगशलाका प्रमुख रोशनलाल चौधरीले बताउनुभयो । अहिले देशभर ५८ सरकारी र ३८ नीजि प्रयोगशालाबाट कोरोना परिक्षण हुदै आएको छ । दैनिक सरदर १५ हजार मानिसको कोरोनाको परिक्षण हुँदै आएको छ ।

त्यसमध्य धेरैले आफ्नो नाम , ठेगाना र नम्बर सहि बताउँदैनन् । जसका कारण सङ्क्रमितको पहिचान गरि समुदाय स्तरमा फैलनबाट रोक्न अफ्ठेरो भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सङ्क्रमितहरुलाई फोन गर्ने गरेको छ । तर दैनिक २ हजार जनालाई सम्पर्क गर्दा झण्डै आधाको फोन नलाग्ने समस्या देखिने गरेको छ । जसले गर्दा कोरोना रोकथाम र नियन्त्रणमा चुनौति देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार