रामेछापमा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म होटल तथा पसल खोल्न पाइने

रामेछापमा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म होटल तथा पसल खोल्न पाइने

रामेछाप जिल्लामा जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही खुकुलो गरिएको छ । अब जिल्लामा सबै खाले जोर विजोर निजी तथा सर्वाजनिक सवारी साधन चल्न दिइने रामेछाप प्रशासनले जनाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सवारी साधन जोर बिजोर प्रणालीमा संचालन हुँदै आएकोमा अब भने हरेक दिन सबै खाले सवारी साधन चलाउन पाइने भएको छ । तर सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु राख्न नपाउने व्यवस्था गरिएको छ ।

जिल्लामा होटेल तथा पसलहरु बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्न पाइने भएको छ । बैंक तथा वितिय संस्थाहरु नियमित रुपमा कार्यालय समयसम्मै सन्चालन हुनेछ्न ।

तर जिल्लामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जन स्थल, मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न भने रोक लगाइएको छ । जिल्लामा पुनः एक हप्ता निषेधाज्ञा थप गरिएको  छ । थपिएको निषेधाज्ञा असार ३१ गतेसम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार