काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो,अब ठूला सार्वजनिक बस चल्ने

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो,अब ठूला सार्वजनिक बस चल्ने

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । तर जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही खुकुलो गरिएको छ । काठमाडौं उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक बस सञ्चालन गर्न दिने निर्णय भएको छ ।

सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने र सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु राख्न नपाउने व्यवस्था गरिएको छ । थपिएको एक साता निषेधाज्ञामा सरकारी, सार्वजनिक संस्थान, कुटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल, बिउ विजन, पशु चिकित्सक लगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधनहरु निर्वाध रुपले संचालन गर्न अनुमति दिइएको छ ।

यस्तै अत्यावश्यक कार्य जस्तै मृत्यु संस्कार, बिरामी तथा कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान सम्बन्धित स्थानीय तहको सिफारिसमा आवत जावत गर्न सहजीकरण गर्ने व्यवस्था गरिएको छ ।औषधि तथा स्वास्थ्य सामग्री, अत्यावश्यक खाद्य सामग्री तथा अन्य व्यापार व्यवसायको हकमा औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा सञ्चालन गर्न पाइने छ ।

खाधान्न, दुध तथा दुग्ध जन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरू, खेलकुद सामग्री पसल, स्टेशनरीरपुस्तक पसलहरु साँझ ६ बजेसम्म संचालन गर्न पाउने व्यवस्था गरिएको छ । तर सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार