माथिल्लो तामाकोशीको प्राविधिक परीक्षण आजबाट, आगामी हप्ताबाट विद्युत उत्पादन सुरु गरिने

माथिल्लो तामाकोशीको प्राविधिक परीक्षण आजबाट, आगामी हप्ताबाट विद्युत उत्पादन सुरु गरिने

बहुप्रतीक्षित राष्ट्रीय गौरवको आयोजनामाथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आगामी हप्ताबाट १ सय ५२ मेगावाट विद्युत् उत्पादन सुरु गर्ने भएको छ । असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको र आजबाट प्राविधिक परीक्षण सुरु गरिने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको छ । कूल ४ सय ५६ मेगावाट क्षमताको यो आयोजना निर्माण शुरु भएको झण्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि आजदेखि यही असार १९ गतेसम्म आवश्यक तयारी गर्न लागिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २ सय २० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेशनमा जोडिनेछ । नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागले एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी गराएको छ ।

यो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबरदेखि कोहरपुरसम्मका सबस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटो समयका लागि विद्युत् कटौती हुुन सक्ने पनि सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार