नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले आज प्रमुख जिल्ला अधिकारी गौलोचन शैजु मार्फत आज प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । आफैँले टेलिभिजन, पत्रपत्रिका, रेडियो सञ्चालन गरी प्रदेशका १३ जिल्लाबाट प्रकाशित तथा प्रसारित हुने सञ्चारमाध्यमलाई बन्द गराउने उद्देश्यले वाग्मती प्रदेश सरकारले आमसञ्चारमाध्यम स्थापना गरेको भन्दै प्रजिअ शैजु मार्फत आज प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष बद्रि नयाँघरले प्रजिअ शैजुलाई ज्ञापनपत्र बुझाउनुभयो । महासंघले सरकारले नीति तथा कार्यक्रम एवं बजेटमा आमसञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न रु १० करोड बजेट विनियोजन गरेको र त्यसले हाल प्रकाशित एवं प्रसारित सञ्चारमाध्यमको घाँटी निमोठ्ने काम गर्न खाजेको ठहर गरेको छ ।
देशभरका ६६ प्रतिशत सञ्चारमाध्यम र नेपाल पत्रकार महासङ्घका ४८ प्रतिशत सदस्य वाग्मती प्रदेशमा रहेको उल्लेख गर्दै महासंघ रामेछाप शाखाले आमसञ्चारजगतको संरक्षण, प्रवद्र्धन तथा क्षमता अभिवृद्धिका लागि पूँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गर्न माग गरेको छ । महासंघले उक्त निर्णय फिर्ता नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिँदै सञ्चारमाध्यमको प्रवद्र्धन र सञ्चारकर्मीको हितमा बजेट ल्याउन माग गरेको छ ।



			
                                    
                                    
                                    
                                    
                                    
                                    