रामेछापमा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागले सार्वजनिक गरेको विशेष मौसम बुलेटिनअनुसार असोज ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। रामेछापमा समेत वर्षा भइरहेको र थप भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको उच्च सतर्कतासम्बन्धी अनुरोधमा असोज ९ गते साँझ ५ः३० बजेदेखि असोज १० गते बिहान ५ बजेसम्म यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न आग्रह गरिएको छ।
वर्षाका कारण मुख्य तथा भित्री सडक मार्गमा पहिरो तथा अन्य जोखिम हुनसक्ने भन्दै सम्भावित जोखिमलाई मध्यनजर गरी यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ। अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्थामा सुरक्षा निकायसँग समन्वय गरी सावधानी अपनाउन भनिएको छ।
त्यस्तै, मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाबारे जानकारी लिई सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी र उच्च सतर्कताका लागि स्थानीय तह, विषयगत कार्यालय, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा विभिन्न संघसंस्थामार्फत सर्वसाधारणलाई निरन्तर सूचना प्रवाह गर्न प्रशासनले आग्रह गरेको छ।
प्रशासनले नियमित वर्षाका कारण जिल्लाका ठूला नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
जोखिमको अवस्था सिर्जना भएमा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय तहसँग समन्वय गरी जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक तयारी गर्नसमेत प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित विपद्का घटनाबारे तत्काल जानकारी गराउन र उद्धार तथा राहत कार्यमा समन्वय गर्न सम्बन्धित निकायलाई समेत तयारी अवस्थामा रहन आग्रह गरेको छ।



