सरकार गठन गर्न दलहरुलाई राष्ट्रपति भण्डारीको आह्वान

सरकार गठन गर्न दलहरुलाई राष्ट्रपति भण्डारीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसद्मा विश्वासको मत हासिल गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठन गर्न राजनीतिक दलहरुसँग आह्वान गर्नुभएको छ ।

उहााले यसका लागि दलहरुलाई आगामी वैशाख ३० गतेसम्मको समय सिमा दिनुभएको छ । राष्ट्रपति कार्यालयद्वारा गयराति जारी विज्ञप्तिमा ‘संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८÷१÷३० गते बिहीबारका दिन साँझ ९ः०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी’ पेस गर्न आह्वान गरिएको छ।

संविधानको धारा ७६ को उपधारा (२) बमोजिम तीन वर्षअघि २०७४ फागुनमा प्रधानमन्त्री नियुक्त ओलीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतको लागि राखेको प्रस्ताव पारित हुन नसकेपछि राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

त्यसअघि काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले बहुमतको सरकार गठन प्रक्रिया अगाडि बढाउन राष्ट्रपतिलाई आह्वान गरेका थिए। राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसारको सरकार गठन गर्न राजनैतिक दलहरूलाई तीन दिनको समय सिमा दिएपछि विपक्षी दलहरु सरकार निर्माणको कसरतमा लागेका छन् ।

त्यसका लागि आज दिउँसो काँग्रृस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा माओबादी केन्द्र र जसपा सहितको बैठक बस्दैछ । बैठकमा नेकपा एमालेको खनाल÷नेपाल समूहलाई पनि बोलाईएको छ । आजको बैठकपछि काँग्रेस नेतृत्वमा सरकार गठनका लागि प्रकृया अघि बढाउने विपक्षी दलहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार