नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हो : प्रधानमन्त्री

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हो : प्रधानमन्त्री

सरकारले प्रदेश र राजधानीमा एक हजार शैयाको अस्थायी अस्पताल बनाउने घोषणा गरेको छ । आज देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै दोस्रो लहर नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन गरेको जानकारी दिनुभयो ।

हवाई उडान रोक्ने, निषेधाज्ञालाई कडाई गर्ने , प्रदेश र राजधानीमा एक हजार शैयाको अस्थायी अस्पताल बनाउन नेपाली सेनालाई जिम्मा दिइएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भावन, नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारले पनि मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड अस्पताल र साना अस्पताललाई ननकोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने बताउनुभयो । सबै सार्वजनिक स्थल, सभाहल, रंगशाला, होटल, पार्टी प्यालेस, कारखाना तथा गोदाम घर लगायतका संरचना प्रयोग गरी सुविधायुक्त क्वारेन्टाइन, आइसोलेन तथा होल्डिङ सेन्टर बनाइने पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

ठूला अस्पताल तथा मेडिकल कलेजमा मेडिकल प्लान्ट स्थापना गर्ने, सञ्चालनमा नआएकाहरुलाई ममर्त गर्ने र लिक्विड अक्सिजनको निर्यात रोक्ने निर्णय भएको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।

देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचार प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

जनशक्ति अभाव हुन नदिन अवकाश प्राप्त चिकित्सक र अन्य स्वाथ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्ने तथा फ्रन्टलाइनमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी , सुरक्षाकर्मी लगायतलाई सुरुको तलब स्केलको ५० प्रतिशत जोमिख भत्ता दिनुका साथै विमा र परिवारको उपचार गर्ने पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नागरिकको जीवन रक्षाका लागि सरकार लागिपरहेको बताउदै सरकार महामारीबाट जनताको जीवन जोगाउन लागिपरेको बताउनुभएको हो । हरेक नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको भन्दै उहाँले महामारीका कारण कसैले जीवन गुमाउन नपोरोस् भन्नेमा सरकार संवेदनशील रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार