श्रमिक दिवसको अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त

श्रमिक दिवसको अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहनुभएका सबै श्रमजीवि जनसमुदायमा सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवि मजदूर किसान जनसमुदायको बलिदानीपूर्ण संघर्षका कारण नै समाजवादी लक्ष्यतर्फ लामवद्ध हुन आइपुगेकोमा उहाँले जोड दिनुभएको छ ।

श्रमजीवी वर्ग, राज्यको बहुआयामिक विकासका मुख्य आधार भएको उल्लेख गर्दै श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव नहुने उहाँको टिप्पणी छ । श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको आरोप लगाउँदै पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धीको रक्षाका लागि एकतावद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता रहेको उहाँको बुझाइ छ ।

कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको भन्दै उनीहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रचण्डले साथै सबै राजनीतिक कायकर्ता र समाजसेवीहरुमा पनि खुला हृदयले समस्यामा परेका रोजगारविहीन ती श्रमिकहरुका लागि सहयोगी हात बढाउन अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार