नेपालमा कोरोना सङ्क्रमित लगातार बढ्दै, भिडभाड हुने कार्य नगर्न सरकारको अनुरोध

नेपालमा कोरोना सङ्क्रमित लगातार बढ्दै, भिडभाड हुने कार्य नगर्न सरकारको अनुरोध

नेपालमा २ दिन यता कोरोना सङ्क्रमित लगातार बढिरहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ७७ जना निको भएका छन् । पछिल्लो समय नेपालमा हरेक दिन १ सय भन्दा कम सङ्क्रमित फेला पर्न थालेका थिए । तर, दुई दिन यता सङ्क्रमितको संख्यामा बृद्धि भइरहेको छ ।

हिजो १५० जनामा सङ्क्रमण पुष्टि भएको थियो । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि सङ्क्रमण फैलने खतरा बढेको जनस्वास्थ्य विद्हरुले बताउँदै आएका छन् । हालसम्म नेपालमा २ लाख ७६ हजार २४४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ भने २ लाख ७२ हजार ९७ जना निको भएका छन् । हालसम्म कोभिड–१९ बाट नेपालमा ३ हजार १९ जनाको मृत्यु भएको छ ।

भिडभाड हुने कार्य नगर्न सरकारको अनुरोध

छिमेकी देशहरूमा कोभिड– १९ को संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै सरकारले भिडभाड हुने कार्य नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र कार्यहरू नगर्न आग्रह गर्नुभयो ।उहाँले जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न पनि अनुरोध गर्नुभयो ।

नाकामा सजगता नअपनाउँदा पुनः उच्च जोखिम

भारतमा दोस्रो चरणमा कोरोना संक्रमण बढेसँगै गड्डाचौकीसहित अन्य चार नाकामा स्वास्थ्य सजकता अपनाउन थालिएको छ । स्वास्थ्यकर्मीले शंकास्पद ठाउँबाट आएका व्यक्तिहरूको एन्टीजेन परीक्षण गरे पनि अन्य व्यवस्थापनलाई प्रभावकारी बनाउन नसक्दा जोखिम बढेको छ । भारतका विभिन्न राज्यहरूमा कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन गरिएको छ ।

कोरोना कहरकै बीच रोजगारीका लागि भारत गएकाहरू अहिले नयाँ वर्ष मनाउन घर फर्किन थालेपछि नेपालका पश्चिमी सीमानाकाहरूमा चहलपहल बढेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालयले नाकाहरूमा सजकता अपनाउन थालेको छ ।

संघ र प्रदेश स्वास्थ्य निर्देशनालयको परिपत्र अनुसार अहिले कञ्चनपुरको गड्डाचौकी र गौरीफण्टा नाकामा स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण सुरु गरेका छन् । उनीहरूले भारतका पञ्जाब, महाराष्ट्र लगायतका राज्यबाट भित्रिने तथा शंकास्पद व्यक्तिहरूको एन्टीजेन तथा मलेरिया परीक्षण गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार