रामेछापमा फेरी कोरोना परीक्षण,आज थप ५४ जनाको स्वाब सङ्कलन

रामेछापमा फेरी कोरोना परीक्षण,आज थप ५४ जनाको स्वाब सङ्कलन

रामेछाप जिल्लामा फेरी कोरोना भाईरस कोविड १९ परीक्षण सुरु भएको छ । जिल्लामा खोप अभियान सुरु भएदेखी बन्द रहेको पिसिआर परीक्षण पुन सुरु गरिएको हो । जिल्लामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका विरामीहरु देखिने वितिकै कोरोना परीक्षण गरिने स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।

जिल्लामा आज एकैदिन ५४ जनाको कोरोना भाइरस कोभिड १९ परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । आज उमाकुण्ड गाउँपालिकाका ५१ जना,जिल्ला अस्पतालमा एक जना र मन्थली नगरपालिकाका दुईजनाको स्वाब सङ्कलन गरिएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । उहाँका अनुसार जिल्ला अस्पतालमा कार्यरत एकजना स्वास्थ्यकर्मी,दुईजना अदालतमा पेश हुने थुनुवा र उमाकुण्ड गाउँपालिकाका शङकास्पद ५१ जनाको स्वाब सङ्कलन गरिएको छ ।

दुई नगरपालिका र छ गाउँपालिका रहेको रामेछापमा अहिलेसम्म दुई हजार ६०४ जनाको स्वाब परीक्षण गर्दा २२३ जनामा कोरोना सङ्क्रमण भएको छ । कोरोना सङ्क्रमित २२३ जनामध्ये २२१ जना कोरोना मुक्त भएका छन् भने दुईजना सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार