नेपालले पहिलोपटक आफ्नै स्रोतसाधान र जनशक्तिबाट नाप्यो सगरमाथाको उचाइ

नेपालले पहिलोपटक आफ्नै स्रोतसाधान र जनशक्तिबाट नाप्यो सगरमाथाको उचाइ

विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले हिजो (मंगलबार) भिडियो कन्फरेन्स (भर्चुअल) का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् । नेपालले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी पहिलो पटक सगमाथाको उचाइ मापन गरेको हो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनका तर्फबाट चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्तरुपमा सगरमाथा (चोमोलोङमा)को नयाँ उचाई ८८४८.८६ मिटर घोषणा गर्नुभएको हो ।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्«पति विद्यादेवी भण्डारीको सन्देश पढेर सुनाउनु भएको थियो । त्यस्तै चिनका तर्फबाट चिनियाँ विदेशमन्त्री यीले चिनियाँ राष्ट्रपती सि चिनफिङको सन्देश पढेर सुनाउनुभएको थियो । नापी विभागको प्राविधिक कर्मचारीको टोलीले सर्वोच्च शिखर सगरमाथाको आरोहण तथा फिल्ड सर्वेक्षणका माध्यमबाट प्राप्त तथ्याङ्कलाई प्रयोगशालाबाट प्रशोधन गरी नयाँ उचाइ निकालिएको थियो । नेपालले सन् २०१८ देखी सर्वेक्षणको काम शुरु गरी उचाइ मापनको कार्य शुरु गरेको थियो भने, नेपालले सगरमाथा आरोहण गरेको एक वर्षपछी चिनले आरोहण गरेको थियो । नेपाल र चिनका प्राविधिकद्वारा प्रशोधन गरी निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गरिको हो । गत मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उचाइ घोषणाको स्वीकृति दिएको थियो ।

गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । नेपालले हालसम्म आधिकारिक रूपमा उल्लेख गर्दै आएको ८८४८ मिटर उचाइ भारतले सन १९५४ मा मापन गरेको हो । सन् १९५४ मा भारतले, सन् १९७५ मा चिनले, सन् १९८७ मा इटालीले, सन् १९९२ मा पुन इटालीले, सन् १९९९ मा अमेरिकाले, सन् २००४ मा इटालीले, सन् २००५ मा पुनः चिनले, सन् २०१० मा डेनमार्कले सगरमाथाको उचाई मापन गरेका थिए । तर, ती सबैले फरकफरक मापन निकालेका थिए । वि.सं. २०७२ को भूकम्पपछि नापी विभागले काठमाडौं आसपासका केही ठाउँमा गरेको सर्वेक्षणबाट काठमाडाँैंँका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो । त्यसैलाई आधार मानेर धेरैले सगरमाथाको उचाइमा परिवर्तन आएको हुनसक्ने अनुमान गरेका थिए ।

यस विषयमा विश्वमा समेत सगरमाथाको उचाई घटेको भनेर चर्चा हुन थालेपछी नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरेको हो । २०७५ चैत २७ गते प्रधानमन्त्री केपी शर्मा ओली र भूमी व्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ मापन गर्न जाने आरोहण दलको टोलीलाई शुभकामना दिएर पठाउनुभएको थियो । प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङ्बु शेर्पाले सगरमाथाको उचाइ मापन कार्यका लागि सगरमाथाको आरोहण गर्नुभएको थियो । सगरमाथाको उचाइ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको आफ्नो स्रोतसाधन, जनशक्तिबाट उचाइ मापन गरी अन्तिम रुप दिइएको सगरमाथाको नयाँ उचाइ घोषणा हुनु नेपाली प्राविधिक क्षमताको पनि नयाँ उचाइको घोषणा भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री ज्ञवालीले सगरमाथाको बारेमा आधिकारिता, वैज्ञानिक तथ्य प्राप्तीसँग आम सहमती पनि भएको बताउनुभयो । सगरमाथाको उत्तर भूभाग जनवादी गणतन्त्र चिनसँग सम्बद्ध रहेको भन्दै उहाँले विश्वसनीयताका लागि पनि संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्नु आवश्यक रहेको बताउनुभयो । नेपालको नापी विभागले उचाई मापन गरी तथ्यांक प्रशोधन गरेपछि आएको नतिजा चिनियाँ अधिकारीहरुले गरेको सर्भे र उनीहरुले निकालेको तथ्याङ्क मेल खानुले तथ्यहरुमा कुनै दुविधा वा भ्रमको अन्त्य भएको मन्त्री ज्ञवालीको भनाइ छ । मन्त्री ज्ञवालीले उचाइ मापनका क्रममा सगरमाथाको आरोहण तथा तथ्याङ्कहरुको प्रशोधन गरी अन्तिम नतिजा निकाल्नमा आ आफ्नो ठाउँबाट योगदान गर्ने सबै टिमलाई बधाई तथा धन्यवाद समेत दिनुभयो ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ मापन गरी घोषणा गर्ने इतिहासको दुर्लभ क्षणको साक्षी बनेको बताउनुभयो ।उचाइ घोषणा कार्यको विशिष्ट अतिथि तथा सगरमाथाको उचाइ मापन कार्यको अगुवाई गर्नुभएका मन्त्री अर्यालले सगरमाथाको उचाइ मात्र नबढेर नेपालको स्वाभिमान र सम्मान पनि बढेको बताउनुभयो । राष्ट्रले कुनै पनि क्षेत्रमा उत्कृष्टता हाँसिल गर्दा प्राप्त हुने खुशी र गर्वानुभूति आफैंमा अनमोल हुने र त्यसलाई शब्दमा व्याख्या गर्न र त्यसको मुल्य हिसाब गर्न नसकिने भन्दै मन्त्री अर्यालले यो एउटा विश्व किर्तीमान भएको बताउनुभयो । अनेकौं पटक विभिन्न देशले सगरमाथाको उचाइ मापन गरेको इतिहास भए पनि प्रत्येक पटक फरक–फरक उचाइ निकालेको भन्दै उहाँले ती सबै आशंका र दुविधाको निवारण गर्नुपर्ने अवस्था समेत रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्नै भूमी व्यवस्था मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नेपालले सगरमाथाको नयाँ उचाइ मापन गरेर विश्व जगतमा आफ्नो नयाँ परिचय समेत दिन सफल भएको बताउनुभयो । पहिलोपटक त्यो पनि आफ्नै स्रोतसाधनमा उचाइ मापन गरेर नयाँ उचाइ सार्वजनिक गर्नु निकै महत्वपूर्ण कार्य भएको भन्दै उहाँले यसले नेपालको परिचय समेत फेरिएको बताउनुभयो । त्यस अवसरमा सगरमाथाको उचाई मापन कार्यको बारेमा जानकारी दिँदै नापी विभागका महानिर्देशन प्रकाश जोशीले पहिलोपटक आफ्नै स्रोतसाधन, जनशक्तिमा उच्च प्रविधिको प्रयोग गरेर नेपालले सगरमाथाको मापन गरेको भन्दै यो महत्वपूर्ण उपलब्धी रहेको बताउनुभयो ।सुरु अवस्थाको सर्वेक्षणदेखि अन्तिम नतिजा ल्याउनका निम्ती विभागको ठूलो जनशक्तिको योगदान यस कार्यमा रहेको समेत उहाँले बताउनुभयो । त्यस अवसरमा सगरमाथाको उचाई मापन कार्यका लागि सगरमाथाको आरोहण, तथ्यांक प्रशोधन लगायत सम्पूर्ण कार्यमा संलग्न कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार