भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको भन्दै उहाँले हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उहाँले सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताउनुभयो । आफुहरु समृद्धिका लागि अघि बढिरहेको तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेको उहाँको भनाइ थियो । उहाँले छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको पनि उहाँले बताउनुभयो । उहाँले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार