सिन्धुलीमा पीसीआर प्रयोगशाला स्थापना, आजबाट जिल्लामै पीसीआर जाँच हुने

सिन्धुलीमा पीसीआर प्रयोगशाला स्थापना, आजबाट जिल्लामै पीसीआर जाँच हुने

आजबाट सिन्धुलीमै कोरोना भाईरस(कोभिड १९) को पीसीआर परीक्षण हुनेभएको छ । बाग्मती प्रदेश सरकारको करिब एक करोड २५ लाख र सिन्धुली अस्पतालको १५ लाख रुपैयाँ लागतमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै जिल्लामै पीसीआर जाँच हुने भएको हो । कमलामाई नगरपालिका –६ शिवनगरमा पीसीआर मेसिन जडान गरि प्रयोगशाला ल्याब सञ्चालनमा ल्याईएको छ । हिजो शनिबार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्की सहित ३ जनाको प्राविधिक टोलीले पीसीआर मेसिन जडान गरेर नमुना परीक्षण गरेका थिए । प्रयोगशालामा २० जनाको स्वाब परीक्षण गर्दा परीक्षण सफल भएको निर्देशक कार्कीले जानकारी दिनुभयो ।

कोभिड १९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि ९ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको सिन्धुली अस्पतालले जनाएको छ । ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवासको समेत व्यवस्था गरिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलबाट आएको प्राविधिक टोलिले ल्याबमा कोरोना परीक्षण गर्ने स्वास्थ्यकर्मीलाई तालिम दिने र दक्ष बनाउनेछन् । यसअघि कोरोना आशंका गरिएका बिरामीको स्वाब हेटौडा, धुलिखेल वा काठमाडौं पठाउनु पर्ने बाध्यता थियो ।

जिल्लामै प्रयोगशाला स्थापना भएपछि अब पीसीआर परीक्षणका लागि स्वाव संकलन गरेर बाहिर पठाउनु नपर्ने भएको छ । कमलामाई नगरपालिका –६ शिवनगरमा जनस्तरबाट नवनिर्मित ५० बेडको कोभिड १९ अस्पताल, सिन्धुली अस्पताल मातहत सञ्चालनमा आईसकेको छ । यो अस्पतालमा ३ वेडको आईसियु र २ बेडको भेन्टिलेटर पनि छिट्टै जडान हुने जनाइएको छ । आइसियु र भेन्टिलेटर जडानका लागि आवश्यक सबै सामान आईसकेकाले एक साता भित्रै भेन्टिलेटर र आइसियु सञ्चालनमा आउने सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले बताउनुभयो । कोभिड अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम पनि थालिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार