सिन्धुलीका निजी विद्यालयहरूले ५ महिनाको शुल्क नलिने, शिक्षकहरूले पनि तलब पाउने

सिन्धुलीका निजी विद्यालयहरूले ५ महिनाको शुल्क नलिने, शिक्षकहरूले पनि तलब पाउने

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मा आबद्ध सिन्धुलीका निजी विद्यालयहरुले ५ महिनाको शुल्क नलिने भएका छन् । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) सिन्धुलीले आईतवार हिजो सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गरी विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण पठन पाठन नभएको ५ महिनाको कुनै पनि शुल्क नलिने घोषणा गरेको हो ।

कोरोना भाईरसका कारण सिर्जित विषम् परिस्थितिलाई ध्यानमा राख्दै प्याब्सन सिन्धुलीमा आबद्ध सबै विद्यालयहरुले २०७७ बैशाखदेखि भदौंसम्मको कुनै पनि शुल्क नलिने प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले बताउनुभयो ।‘कोरोना भाईरसको महामारीले गर्दा अन्य क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि पूरै संकटमा परेको छ । निजी विद्यालय सञ्चालक पनि संकटमा छन् भने विद्यार्थी र अभिभावक पनि अन्यौलमै छन् ।

यो महामारीमा हामी विद्यालय सञ्चालक त संकटमै छौ । विद्यार्थी र अभिभावक पनि समस्यामै छन् । संगठनमा आबद्ध सबै विद्यालयहरुबिच छलफल गरेर पढाई हुन नसकेको ५ महिनाको शुल्क नलिने निर्णय गरेका हौं’ – अध्यक्ष मास्केले भन्नुभयो । कोरोना भाईरसका कारण निजि विद्यालय सञ्चालकहरू संकटमा रहेपनि निजी विद्यालयहरुले महामारीको विषम् परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्नसक्छन् भन्ने सन्देश प्रवाह गर्न शुल्क मिनाहा गरिएको उहाँले बताउनुभयो ।

प्याब्सन सिन्धुलीले अहिले बैकल्पिक माध्यमबाट अनलाईन कक्षा, होमवर्क प्याकेज, भर्चुअल कक्षा र रेडियोबाट पनि पठनपाठनलाई निरन्तर्ता दिएको छ । बैकल्पिक माध्यमबाट भएका पठनपाठनको पनि बैशाखदेखि भदौं सम्मको शुल्क नलिईने अध्यक्ष मास्केले बताउनुभयो ।

शिक्षकहरूको पारिश्रमिक नरोकिने

प्याब्सनमा आबद्ध विद्यालयका शिक्षकहरूले मासिक तलब (पारिश्रमिक) पाउने भएका छन् । पत्रकार सम्मेलनमा प्याब्सन सिन्धुलीका अध्यक्ष मास्केले प्याब्सन सिन्धुलीमा आबद्ध विद्यालयहरुले आफ्नो विद्यालयमा कार्यररत सबै शिक्षकलाई मासिक तलब दिने सहमती भएको जानकारी दिनुभयो ।

प्याब्सनमा आवद्ध सिन्धुलीका अधिकांश विद्यालयहरुले गत बर्षको चैतसम्मको तलक सबै शिक्षकहरूलाई दिईसकेको अध्यक्ष मास्केले बताउनुभयो । यस बर्षको असारसम्मको पनि ४० प्रतिशत भन्दाबढी तलब शिक्षकहरुलाई दिएको उहाँको भनाइ छ ।अहिलेको अप्ठ्यारो समयमा केही ढिला भने हुनसक्ने भन्दै उहाँले भन्न्ुभयो, ‘महिना मर्ने बित्तिकै नहुन पनि सक्छ तर हिसाब गरेर तलब दिन्छौं ।’

जिल्लाका ४९ निजी विद्यालय मध्ये ३३ विद्यालय प्याब्सन सिन्धुलीमा आबद्ध छन् भने करिव २० हजार विद्यार्थी अध्ययरत छन् । झन्डै ५ सय शिक्षक, कर्मचारी कार्यररत रहेका प्याब्सनले जनाएको छ । एनप्याब्सनमा १६ विद्यालयआबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार