नेकपामा अध्यक्षद्वयको कार्यविभाजनमा प्रष्टता, सरकार सञ्चालनको पूरा जिम्मा ओलीलाई

नेकपामा अध्यक्षद्वयको कार्यविभाजनमा प्रष्टता, सरकार सञ्चालनको पूरा जिम्मा ओलीलाई

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजनलाई प्रष्ट पारेको छ। हिजो बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकारका कामकारबाहीलाई प्रभावकारी रूपमा अगाडि बढाउने र अर्का अध्यक्ष प्रचण्ड पार्टीका कामकारबाहीमा केन्द्रित रहने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अर्का अध्यक्ष प्रचण्ड पार्टी कार्यकारी अधिकारसहित पार्टीमा काम गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

गतअसार १० देखि जारी नेकपाको स्थायी कमिटी बैठक हिजो सकिएको छ । बैठकमा अध्यक्षद्वयले तयार पारेको प्रस्तावमाथि आज १३ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए। ती सबै धारणाका बारेमा अध्यक्ष प्रचण्डले जवाफ दिनुभएको थियो । बैठकले पार्टी एकता रक्षा गर्ने, सुदृढ गर्दै अगाडि बढाउने पनि निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । पार्टीलाई विधिसम्मत् अगाडि बढाउने र कमीकमजोरी सच्याउने अनि एकतावद्ध रूपमा अघि बढ्ने निर्णय आजको बैठकले गरेको छ । दैनिक काममा पार्टीले सरकारलाई हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा पार्टीको मार्ग निर्देशनलाई सरकारले ध्यान दिएर निर्णय गर्नुपर्ने निस्कर्ष पनि आजको स्थायी कमिटी बैठले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार