रामेछाप नगरपालिकामा धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको पहिचान र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको ‘रामेछाप सम्पदा पदयात्रा’ सम्पन्न भएको छ। मंसिर ५ र ६ गते आयोजित दुईदिने पदयात्रामा एक सयभन्दा बढी पदयात्री सहभागी भएका छन्।
रामेछाप नगरपालिका आसपासका विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थललाई समेटेर आयोजना गरिएको पदयात्रामा भीमसेनस्थान, डुकुरसिं डाँडा, तिल्केस्थानगढी, केवलेश्वर महादेव मन्दिर, भंगेरी, निशान भगवती मन्दिर, सैनिक पार्क, ताराखसे पोखरी, भालुखोप भ्यू टावर,महाकाली देवीको थान र गणेशटार लगायतका स्थलको अवलोकन गरिएको थियो। साथै, जुनार बगैंचाको भ्रमणमार्फत कृषि पर्यटनको सम्भावनासमेत उजागर गरिएको थियो।
पदयात्रामा सहभागीहरूले रामेछापमा धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको प्रशस्त सम्भावना रहेको बताउँदै व्यवस्थित प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके यो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने बताएका छन्।
पदयात्राले ओझेलमा परेका सम्पदाको पहिचान, संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहभागीहरूले पदयात्राका क्रममा संकलन गरेका तस्बिर, भिडियो तथा ऐतिहासिक जानकारीलाई प्रचारप्रसारमा उपयोग गर्न सके रामेछापमा आन्तरिक पर्यटकको आकर्षण बढ्ने विश्वास व्यक्त गरेका छन्।
रामेछाप नगरपालिका, सूर्यचका फाउण्डेसन र रामेछाप नगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सम्पन्न पदयात्रालाई रामेछापको पर्यटन प्रवद्र्धनका लागि दीर्घकालीन अभियानका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।



