नेकपा विवाद समाधान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

नेकपा विवाद समाधान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन पार्टीका दुबै अध्यक्षलाई बुझाएको छ । हिजो बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी भित्र उठेका विभिन्न विषयलाई मसिनो गरी छलफल गर्दै दस्तावेजीकरण गरेको थियो । कार्यदलले गत शनिबारबाट काम सुरु गरेको हो । गत शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा नगराउनेगरी सहमतिको प्रस्ताव तयार गरेको छ । कार्यदलको प्रतिवेदनमा दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने उल्लेख गरिएको दावी छ । प्रतिवेदमा एकता महाधिवेशन आगामी चैत महिनामै गर्नु उपयुक्त हुने सुझाव समेटिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार