रुसले बनाएको खोपबारे जानकारी छैनः विश्व स्वास्थ्य संगठन

रुसले बनाएको खोपबारे जानकारी छैनः विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले रुसले बनाएको कोरोना भाइरस विरुद्धको खोपसम्बन्धी कुनै जानकारी नरहेको बताएको छ । संगठन अन्तर्गत प्यान–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाका अनुसार रुसलाई संगठनले गत साता मात्रै खोप बनाउनका लागि सबै अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्नु भनेर आग्रह गरिएको थियो । रूसले जुन गतिमा कोरोना भाइरस विरुद्धको खोप बनेको दावी गरेको छ त्यसमा विश्वका अन्य वैज्ञानिकहरुले पनि आशंका व्यक्त गरेका छन् । यूनिभर्सिटी कलेज लण्डनका बायोलोजिस्ट प्रोफेसर फ्रान्कोइस ब्यालूक्सले रुसले ठूलो परिमाणमा मानिसमाथि गर्न लागेको खोपको परीक्षण मुर्खतापूर्ण रहेको बताउनुभएको छ । साउथ ह्याम्पटन यूनिभर्सिटीका ग्लोबल हेल्थ रिसर्चर मिशेल हेडले पनि रुसले विकास गरेको कोरोना विरुद्धको खोप कति विश्वसनीय छ भन्ने कुराको कुनै प्रमाण फेला नपरेकाले तत्काल ठूलो जनसंख्यामा परीक्षण गर्नु गलत हुन सक्ने प्रतिक्रिया दिनुभएको छ । रुसले हिजो मात्रै कोरोना विरुद्धको खोप विकास गरेको दावी गर्दै आफ्नो मुलुकमा मान्यता दिइसकेको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना वैज्ञानिकहरुले कोरोना भाइरस विरुद्धको खोप तयार पारिसकेको र मानिसहरुलाई दिनका लागि तयार रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार