नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो, देशभर थपिए ३३८ संक्रमित

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो, देशभर थपिए ३३८ संक्रमित

कोरोना भाइरस (कोभिड—१९) बाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका दुइ तथा बाँके र पर्सामा एक–एक जना रहेका छन् । काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षका पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको किर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुषको आज मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेको कोहलपुर नगरपालिका दुइका ७० वर्षका महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो मृत्यु भएको छ । २३ गते अस्पताल भर्ना भएका महिला उच्च रक्तचापको विरामी रहेको पाईएको छ । यस्तै पर्साको देवयानी—१५ का ४५ वर्षका महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

उपत्यकामा ४४ सहित देशभर तीन सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण

पछिल्लो २४ घण्टामा उपत्यकामा ४४ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा चार–चारजना रहेका छन् । यसअघि हिजो उपत्यकामा ९२ जना सङ्क्रमित थपिएका थिए । आजको नियमित जानकारीका क्रममा स्वास्थ्य तथा मन्त्रालयले काठमाडौंमा ४४ सहित देशभर तीन सय ३८ जना कोरोना सङ्क्रमित थपिएको जनाएको हो । योसँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २३ हजार तीन सय १० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा एक सय ४० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १६ हजार चार सय ९३ जना पुगेको छ । योसँगै अब सक्रिय सङ्क्रमितको संख्या ६ हजार सात सय ३८ रहेको छ भने आज आठ हजार चार सय ३२ जनाको परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार