आईतबारदेखि काठमाडौं उपत्यकामा थप कडाई

आईतबारदेखि काठमाडौं उपत्यकामा थप कडाई

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा भोलिदेखि अत्यावश्यक बाहेकका काममा नियन्त्रण गरिने भएको छ । हिजो बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिको बैठकले काठमाडौं उपत्यकामा भोलिदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका काम सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय गरेको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई शिल गर्ने निर्णय भएको बताउनुभयो । सपिङ मल, व्यापारिक प्रतिष्ठानमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए वा नभएको जाँच गरिने छ भने पालना नगरेको पाइएमा बन्द गरिने छ । जिल्ला स्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीहरू बीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाले सरकारी तथा निजी कार्यालयका काम नियन्त्रित गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयहरुमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिने छ । तत्काल लकडाउन अर्थात् बन्दाबन्दी नगरिए पनि उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ भने गरिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार