मलको अभावले उत्पादन घट्ने चिन्तामा रामेछापका किसान

मलको अभावले उत्पादन घट्ने चिन्तामा रामेछापका किसान

कहिले फौजी किरा त कहिले सलह किराको प्रकोपबाट नोक्सानी व्यहोर्दै आएका रामेछापका किसानले यतिबेला भने मलको अभाव झेल्नु परेको छ । मकैमा युरिया मल हाल्न नपाएका किसानहरुले धान गोड्ने समयमा युरिया मल हाल्न नपाएपछि किसान धान उत्पादन घट्ने चिन्तामा छन् । रामेछाप नगरपालिका ७ का किसान विमला बस्नेतले १० रोपनी धन्दा बढि जग्गामा धान रोप्नु भएको छ । गोड्ने बेलाको धानमा युरिया मल हाल्नुपर्ने भएपनि यसपटक बजारमा मल अभाव छ । देशभरका किसानले धान रोप्ने बेलामै मल पाएका थिएनन् । अहिले पनि मल अभाव उस्तै छ । सरकारले टेन्डर प्रक्रिया अघि बढाउन ढिलो गर्दा समयमै मल आपूर्ति हुन सकेन ।

सरकारको अलमलका कारण मल नपाए पछि किसानलाई भने लगाएको धानबाली पराल बनाएर काट्नुपर्ने अवस्था आउने होकि भन्ने चिन्ताले पिरोल्न थालेको छ । यस वर्ष आफुहरुले रोपेको मकैमा पनि मल हाल्न नपाएको र जसका कारण मकै उत्पादनमा समेत कमी आउने देखिएको अर्का कृषक गोपाल महताराको भनाई छ । सरकारसँग युरिया र डीएपी मलको पर्याप्त मौज्दात नहुँदा अभाव सिर्जना भएको हो । असारमा मल पर्याप्त नहुने भएपछि सरकारले ७१ हजार ५ सय मेट्रिकटन युरिया र ५० हजार टन डीएपी खरिद प्रक्रिया अघि बढाएको थियो । लकडाउनका कारण एक लाख मेट्रिक टन मल भारतको बन्दरगाहमा अड्किएको कृषि विकास मन्त्रालयले जनाएको छ । सोही कारण मल अभाव भएको बताइएको छ । साउनभरीमा मल आइपुग्ने सरकारी अधिकारीहरूले बताइरहँदा किसान भने अझै विश्वस्त हुन सकेका छैनन् । सरकारकै भनाइ अनुसार पनि किसानले मागे जति मल पाउन अझै करिब एक महिना लाग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार