कोरोना सङ्क्रमण नियन्त्रण गर्न देशका १३ जिल्लामा निषेधाज्ञा जारी

कोरोना सङ्क्रमण नियन्त्रण गर्न देशका १३ जिल्लामा निषेधाज्ञा जारी

कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारहरूले धमाधम लकडाउन अथवा निषेधाज्ञा लगाउन थालेका छन् । लकडाउन खुलेसँगै तीव्र रुपमा लक्षणसहित कोरोना भाइरसको सङ्क्रमण बढेपछि प्रदेश २ को ६ जिल्लासहित १३ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को ठूला शहर, सदरमुकाम र अरु जिल्लामा स्थानीय तह वडासम्म पनि निषेधाज्ञा लगाइएको छ । प्रदेश २ अस्थायी राजधानी जनकपुर, पर्साको वीरगन्ज, बाराको कलैयालगायतका अधिकांश ठाउँ, महोत्तरीको जलेश्वर र सप्तरीको राजविराज लगायतका ठाउँमा निषेधाज्ञा लागू गरिएको छ । आज बिहान सर्लाहीमा पनि निषेधाज्ञा लगाइएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार हिजो मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी, बाँके, बारा र पर्सा, सर्लाहीमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको गति फैलन सक्ने भन्दै अन्य जिल्लाले समेत जिल्लाभित्र हुने गतिविधिमा नियन्त्रण गर्न स्थानीय प्रशासनलाई सक्रिय बनाएका छन् । हिजो मंगलबार साँझसम्म मात्रै देशभर कुल सङ्क्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरूमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ६२ सहित थप २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार