सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने प्रधानमन्त्री ओलीको भनाइ

सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने प्रधानमन्त्री ओलीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले सङ्कटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्रीले कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र नपुग्ने र जनतामा चेतना बढाउन आवश्यक रहेको बताउनुभयो । कहिले लकडाउन गरेको भनेर विरोध, कहिले लकडाउन किन खोलेको भनेर विरोध गरेको भन्दै प्रधानमन्त्री ओलीले यो महामारी सबैको चुनौती भएको र यसलाइ सबै मिलेर सामना गर्नुपर्ने धारणा राख्नुभयो ।

बालुवाटारमा प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहित जनस्वास्थ्य विज्ञहरुसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको छ । सरकारले चार महिना लामो लकडाउन अन्त्य गरेदेखि कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर वृद्धि भएको छ । राजधानी काठमाडौंमा पनि कोरोना सङ्क्रमण फैलिँदै गएपछि सरकारको आगामी कदमबारे प्रधानमन्त्रीले विज्ञहरु र शीर्ष नेताहरुसँग राय लिन खोज्नुभएको छ । स्वास्थ्य क्षेत्रका विज्ञ र विपक्षी दलका नेताहरुसँगको परामर्शमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रस्तुत गरेको प्रतिवेदनअनुसार हाल प्रतिदिन १८ हजारसम्मको परीक्षण गर्न सक्नेगरी ल्याब स्थापना गरिएको छ भने ४ लाखको पीसीआर टेस्ट भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा २० हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट ५७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार