पार्टी भित्रको विवाद पद प्राप्तिका लागि नभएको नेकपा अध्यक्ष प्रचण्डको भनाइ

पार्टी भित्रको विवाद पद प्राप्तिका लागि नभएको नेकपा अध्यक्ष प्रचण्डको भनाइ

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएको बताउनुभएको छ । सत्तारुढ पार्टी नेकपाभित्र पछिल्लो समय चर्किएको विवादका बीचमा दाहालले पार्टीभित्र चलेको बहस पद प्राप्तिका लागि भएको भनेर गलत प्रचार गरिएको गुनासो गर्दै यस्तो बताउनुभएको हो । कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा आज ललितपुरमा भएको कार्यक्रममा अध्यक्ष दाहालले पार्टीभित्रको बहसलाई अस्वस्थ बनाइएकाले बाहिर नकारात्मक प्रभाव परेको बताउनुभयो । आफूले पार्टी एकता गर्नुपूर्व नै राष्ट्रका लागि भनेर पद त्याग गरेर अगाडि बढेको बताउँदै उहाँले अहिले नेकपाले स्थायित्व दिनुपर्ने बेला आएको बताउनुभयो ।

पार्टीलाई विचार र विधिबाट चलाउनुपर्ने भनेर अहिले बहस भइरहेको दाहालको भनाइ थियो । उहाँले पार्टी एकताको रक्षा गर्नका लागि नेता बहसमा रहेको पनि बताउनुभयो । पार्टी एकताका नाममा मुलुकका विभिन्न मुद्दा र पार्टीको विचारबारे बहस गर्नै हुन्न भन्ने मान्यता राख्न नहुने उहाँको भनाइ थियो । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सहभागी कार्यक्रममा दाहालले पार्टी एकताको तीन वर्षमै विभाजन हुने हो कि भन्ने चिन्ता पैदा भएको पनि बताउनुभयो । नेकपाभित्र पछिल्लो समय प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र दाहाल–नेपाल समूहबीच विवाद चर्किएको छ । स्थायी कमिटी बैठक जारी रहेको अवस्थामा यो विवाद सतहमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार