गत २४ घण्टामा दुइ सय ७४ जनामा कोरोना सङक्रमण , उपत्यकामा ४५ जना थपिए

गत २४ घण्टामा दुइ सय ७४ जनामा कोरोना सङक्रमण , उपत्यकामा ४५ जना थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप दुइ सय ७४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार पाँच सय ४७ पुगेको नियमित जानकारी गराउने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा दुइ सय २७ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यससँगै डिस्चार्ज हुनेको संख्या १४ हजार दुइ सय ४८ पुगेको छ । मन्त्रालयका अनुसार आज ६ हजार तीन सय चार जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभर १३ हजार दुइ सय एक जना क्वारेन्टाइनमा रहेका छन् । आजसम्म पाँच हजार दुइ सय २७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैविच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र थप ४५ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौँका ४१, ललितपुरका दुइ र भक्तपुरका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि गर्नुभयो । प्रवक्ता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका दुइ तथा काठमाडौँका १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा काठमाडौँका १३ जनामा सङक्रमण पुष्टि भएको हो । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौँका चार जनामा सङक्रमण पुष्टि भएको छ । यसैगरी नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका तीन जना र स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका दुइ तथा ललितपुरका दुइ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार