विवाद समाधान गर्न नेकपा उपाध्यक्ष गौतमको ६ बुँदे प्रस्ताब

विवाद समाधान गर्न नेकपा उपाध्यक्ष गौतमको ६ बुँदे प्रस्ताब

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टी भित्र देखिएको विवाद् समाधान हुने गरी नयाँ प्रस्ताव गर्नुभएको छ । गौतमले पार्टी नेताहरुसामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानमन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सार्नुभएको छ । प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ । गौतमले पार्टीको बिग्रह रोक्नका लागि भन्दै अघि सारेको प्रस्ताव प्रधानमन्त्री ओलीले लिँदै आएको अडान हो । उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव औपचारिक बैठकमा नराखेको पनि नेताहरुलाई दिएको बताईएको छ ।

यसैबीच, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी समितिका सदस्यको बालुवाटारमा छुट्टै बैठक बसेको छ । २९ जना स्थायी कमिटी सदस्य र दुई जना आमन्त्रित सदस्य सहभागी बैठकले आज बिहानका लागि डाकिएको बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय विधि सम्मत नभएको ठहर गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । यस्तै बैठकले स्थायी कमिटीको अर्को बैठक आवश्यक रहेको भन्दै यसका लागि मिति तय गर्न ओलीसँग प्रचण्डले छलफल गर्ने पनि निर्णय गरेको उहाँले बताउनुभयो । बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफूले अघि सारेको ६ बुँदे प्रस्तावबारे ब्रिफिङ गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले बैठक अघि प्रधानमन्त्री ओलीसँग भएको कुराकानीबारे बताउनुभएको थियो । यो बैठकलाई बहुमत स्थायी समिति सदस्यको बैठक भन्नुपर्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार