नेकपा स्थायी समिति बैठक आज बस्दै, विगतमा जस्तै नरोकिने नेताहरुको दावी

नेकपा स्थायी समिति बैठक आज बस्दै, विगतमा जस्तै नरोकिने नेताहरुको दावी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आजका लागि बोलाइएको छ । पार्टी विवाद टुङ्ग्याउने विषयमा दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा बैठकको समय बिहान ११ बजे निर्धारण गरे पनि बस्नेनबस्ने निश्चित भने छैन । विवाद जस्ताको तस्तै छ । दुवै पक्ष आआफ्नो अडानमा टसमस भएका छैनन् । १० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा पुगेको छ ।

बहुमतका आधारमा स्थायी समितिमा निर्णय गरेर अघि जाने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्ष छ भने बहुमतकै आधारमा राजीनामाको प्रस्ताव पारित गर्न नदिने रणनीतिमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली रहनु भएको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठक नरोक्ने र प्रधानमन्त्री सहमतिमा नआए पनि बैठक अघि बढाउने हिजो सहमति गर्नु भएको छ ।

वरिष्ठ नेता खनालले आजको बैठक नरोकिने बताउनु भएको छ । हिजो अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको प्रचण्ड र नेपाल पक्षका नेताहरूको छुट्टै बैठकले आजको बैठक नरोक्ने निष्कर्ष निकालेको थियो । प्रधानमन्त्री एवम अर्का अध्यक्ष ओलीले पनि हिजै आफू निकटका केही नेताहरूसँग छलफल गर्नुभएको छ । नेकपा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ्ले पनि दुई नेताबीचमा सहमति भइसकेकाले आजको बैठक नरोकिने बताउनुभयो । स्थायी समिति बैठकमा केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने एजेण्डा प्रवेश गरेपछि असार १८ गतेदेखि सहमतिका लागि भन्दै बैठक लगातार स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार