४२ जना नेता कार्यकर्ताको नेतृत्व गर्दै सुनिल थापा आज काँग्रेस प्रवेश गर्दै

४२ जना नेता कार्यकर्ताको नेतृत्व गर्दै सुनिल थापा आज काँग्रेस प्रवेश गर्दै

४२ नेताकार्यकर्ताको नेतृत्व गर्दै सुनिलबहादुर थापा आज नेपाली काँग्रेस प्रवेश गर्नुहुने भएको छ । काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो ३ बजे पार्टी प्रवेश कार्यक्रम तय भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री एवं पूर्वमन्त्री थापाले काँग्रेस प्रवेशका लागि ४२ जनाको नाम केन्द्रीय कार्यालयमा उपलब्ध गराउनुभएको सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ ।

उनीहरुमध्य २१ जना आज पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर पार्टी प्रवेश गर्ने छन् भने २१ जना नेता तथा कार्यकर्ता सम्बन्धित जिल्लाबाट काँग्रेस प्रवेश गर्ने छन् । सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेलसहितका नेताहरूले थापासहितका नेतालाई पार्टी प्रवेश गराउने तयारी भएको छ । स्रोतले जनाएअनुसार थापाले काँग्रेस सहमहामन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ भने राप्रपाबाट राजीनामा गरेको जनाउँदै पार्टी अध्यक्षलाई पत्र लेखेका पाँच नेताले काँग्रेस केन्द्रीय सदस्यको जिम्मेवारी पाउने छन् ।

केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेमा विष्णुविक्रम थापा, बृजलाल यादव, बाबुराम बस्नेत, रामकृष्ण भट्टराई र किरण गिरी रहनुभएको छ । दुई जनाले आमन्त्रीत केन्द्रीय सदस्यको जिम्मेवारी पाउने छन् भने अन्य नेताहरूले विभाग, महासमिति सदस्यसहित विभिन्न तहको जिम्मेवारी पाउने सम्भावना रहेको जनाइएको छ । यसैबीच काँग्रेस नेताहरु र थापा समूहबीच भागबण्डाको अन्तिम टुङ्गो लगाउन अहिले छलफल भइरहेको छ । थापाको निवास मालिगाउँमा जारी बैठकमा के कस्तो पद तथा भूमिका दिनेलिने भन्ने बारेमा कुराकानी भइरहेको काँग्रेसका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार