काँग्रेसमा महाधिवेशन लक्षित दौडधुप तीव्र

काँग्रेसमा महाधिवेशन लक्षित दौडधुप तीव्र

पार्टीको १४औँ महाधिवेशन फागुनमै गर्ने गरी असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले कार्यतालिका परिमार्जन गरेसँगै नेपाली काँग्रेसमा चुनाव लक्षित गतिविधि तीव्र हुँदै गएको छ । नेताबीच भेटघाट र छलफल बाक्लिएका छन भने अनौपचारिक गुटगत भेला पनि हुन थालेका छन् । काँग्रेसको भावी नेतृत्वका लागि शीर्ष तहका नेताले सार्वजनिक रूपमै उम्मेदवारी घोषणा नगरे पनि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा शेखर कोइरालाले सभापति पदका लागि लबिङ गर्दै आउनुभएको छ ।

यसअन्तर्ग हिजो काँग्रेस नेता अर्जुनरसिंह केसीको घरमा पौडेल पक्षको भेला भएको छ । भेलाले सभापति देउवाले पार्टीको महाधिवेशन प्रभावित पर्नेगरी गतिविधि बढाएको निस्कर्ष निकालेको एक नेताले जानकारी दिए । सभापति पदलगायत नेतृत्वका आकाङ्क्षी नेताहरूले महाधिवेशन लक्षित गरी आआफ्ना सम्पर्क कार्यालय पनि सञ्चालनमा ल्याएका छन् ।

यसैबीच काँग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीबाट पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डँडेलधुरा पार्टी कार्यालय सचिव रामबहादुर विष्टलाई गरेको कारबाहीप्रति नेताले असन्तुष्टि जनाउन गालेका छन् । अनुशासन समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै कारबाही प्रक्रिया गलत भएको टिप्पणी गर्दै महाधिवेशन लक्षित राजनीति पनि सुरु भएको छ । काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीमा लामो समय योगदान दिएका नेतालाई कारबाही गर्ने तर अन्य पार्टीबाट प्रवेश गराउने कुराले गलत सन्देश जाने टिप्पणी गर्नुभएको छ । काँग्रेस नेता मीनेन्द्र रिजालले योगदान दिएका नेताहरूलाई निष्कासन गर्ने निर्णयले लोकतन्त्रलाई कमजोर बनाउने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार