तातोपानी नाकाबाट आयात ठप्प, सडक विभागले चासो नदिँदा सडक मर्मत हुन सकेन

तातोपानी नाकाबाट आयात ठप्प, सडक विभागले चासो नदिँदा सडक मर्मत हुन सकेन

अविरल वर्षापछि आएको बाढी पहिरोले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि नेपाल– चीन व्यापारीक नाका तातोपानी फेरि बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुन सकेको छैन । चीनमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढेपछि २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुन सञ्चालनमा आएको थियो । नाका भित्रिसकेका करोडौँ मूल्यका सामाग्री तातोपानीमै रोकिएका छन् ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले नाकाबाट आयात ठप्प रहेको बताउनुभयो । भन्सारको तथ्यांक अनुसार गत वर्षको बितेको ११ मध्ये नाका चलेको नौ महिनामा तातोपानी भएर साढे नौ अर्ब रुपैयाँ मूल्यका सामग्री आयात भएको थियो । झण्डै ६ करोड रुपैयाँका सामग्री रोकिएको प्रमुख खत्रीले जानकारी दिनुभयो । रोकिएका सामग्रीमा कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, तयारी पोशाक र कृषिजन्य सामान छन् । केहि दिन अघि आएको बाढीपहिरोले सडक कटान पछि एम्बुलेसन्स लगायत अतिआवश्यक सवारी साधनहरू समेत सञ्चालन हुन नसकेपछि बाह्रविसे नगरपालिकाले जुरेमा तत्कालै सडक मर्मत गरेर यातयातका साधन सञ्चालन गरेपनि त्यहाँभन्दा माथी भने समस्या देखिएको छ ।

सडक कार्यालय चरिकोटले सडक मर्मत गर्नका लागि एउटा स्काभेटर ल्याएर काम गरेपनि स्काभेटर बिग्रिएपछि समस्या भएको बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो । सडक कार्यालयले बिग्रिएको सडक सुधार गर्न प्रभावकारी काम नगरेपछि तातोपानी नाकामा व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरूले नै स्काभेटर प्रयोग गरिरहेका छन् । त्यस्तै बाह्रविसे नगरपालिकाले पनि एउटा स्काभेटर प्रयोग गरेर सडक सुधार गर्न खोजेपनि सडक कार्यालय चरिकोटले सहयोग नगरेको प्रमुख शेर्पाले गुनासो गर्नुभयो । बाढीपहिरोले क्षति बनाएको सडक तत्काल सुधार गर्नका लागि एक साता अघि सभामुख अग्नि सापकोटाले सडक विभागका अधिकारीहरूलाई निर्देशन दिएपनि त्यो निर्देशन अनुसार काम नभएको शेर्पाले दुखेसो गर्नुभयो ।

२÷३ दिनमै बाह्रबिसेदेखि जम्बुसम्मको बाटो छिचोलिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख विजय महतोले बताउनुभयो । उहाँका अनुसार बाह्रबिसेदेखि जम्बुसम्म ४ किलोमिटर दुरी पर्दछ । सडक डिभिजनको स्काभेटर बिग्रेका कारण काममा केही ढिला भएको डिभिजन प्रमुख महतोले बताउनुभयो । अब निरन्तर बाटो खन्न खटिने उहाँले जानकारी दिनुभयो । भोटेकोशी नदीले कटान गरेको खुर्सानीबारी नजिकैको सडक सुधार गरेर सवारी साधान सञ्चालन सुरु भइसकेको छ । खागदलमा पनि सडक मर्मत गरेर अहिले राजमार्गको सबैभन्दा बढी जोखिम रहेको सिरिसेमा सडक कार्यालय, बाह्रविसे नगरपालिका र व्यापारीहरू सहित तीन वटा स्काभेटर लगाएर सडक मर्मत सुरु गरिएको छ । तर सडक कार्यालयको स्काभेटर बिग्रीएपछि दुइ वटा स्काभेटरले मात्रै काम गर्दा ढिलाई भएको प्रमुख शेर्पाले बताउनुभयो । ‘

जम्बु बजारमा केही थान जाली र हेमपाइप हाल्दा अस्थाई रुपमा सडक सुधार गरेर सञ्चालन गर्न सकिन्छ तर यस्ता सामान्य कुरमा पनि सडक कार्यालयले चासो दिएन, विपत्तिमा पनि सडक कार्यालय कानमा तेल हालेर बस्यो’, – प्रमुख शेर्पाले भन्नुभयोे । उहाँले अगाडी थप्नुभयो, – ‘सडक कार्यालयले हामी गर्न सक्दैनौँ भनेर हामीलाई भन्नु प¥यो । हाम्रो स्रोतले सक्ने काम हामी गछांै, काम गर्ने हो भने प्रभावकारी रुपमा गर्नु प¥यो ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार