बन्दाबन्दी १ सय २० दिनपछि पूर्णरुपमा खुल्यो, जोखिम कायमै

बन्दाबन्दी १ सय २० दिनपछि पूर्णरुपमा खुल्यो, जोखिम कायमै

सरकारले लगाएको लकडाउन अर्थात् बन्दाबन्दी १ सय २० दिनपछि पूर्णरुपमा खोलेको छ । कोरोना सङ्क्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकै बेला सरकारले लकडाउन खोल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को हिजोको निर्णयपछि ११ चैतदेखि लागू गरिएको लकडाउन आजदेखि अन्त्य भएको हो । सवारीसाधनको जोर–बिजोर प्रणाली हटाउने र सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने सरकारको निर्णय छ । १५ साउनदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन गरिनेछ । त्यस्तै, स्वास्थ्य मापदण्ड पालना गरी १ भदौदेखि लामो दूरीका सार्वजनिक यातायात तथा हवाई सेवा सुरु गरिने भनिएको छ । सरकारले १ भदौदेखि भर्ना र रोकिएका परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ  ।

तर, विद्यालय–क्याम्पसमा पठनपाठन भने तत्काल हुनेछैन । त्यसबारे पछि निर्णय हुने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । लकडाउन खुलाइए पनि शैक्षिक संस्थाहरू, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार तथा मनोरञ्जनका क्षेत्र, सैलुन–ब्युटिपार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद, सभा र भेला, धार्मिक क्षेत्र, पुस्तकालय, संग्रहालय तथा चिडियाखाना, अन्तर्राष्ट्रिय नाका भने बन्द नै रहने छन्  । उच्च सतर्कता नअपनाए अब घनाबस्ती भएको उपत्यकालगायतका ठाउँमा सङ्क्रमण छिट्टै फैलने चिन्ता स्वास्थ्यविज्ञहरूले गरेका छन् । जनस्वास्थ्य विज्ञ डाक्टर समिरमणी दिक्षीतले लकडाउन खुल्नु भनेको बन्द खुल्नुजस्तै भएकाले विषेश सर्तकर्ता अपनाउनुपर्ने बताउनुभयो । तर, सरकारले लकडाउन अन्त्य गरे पनि स्वास्थ्यसम्बन्धी मापदण्ड कायमै रहेको र त्यसको पालना नगर्नेलाई सङ्क्रामक रोक तथा स्थानीय प्रशासन ऐनअनुसार कारबाही गर्ने भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार