रामेछापको सुकाजोरमा तितेपातीको धुप बनाउने तालिम सुरु

रामेछापको सुकाजोरमा तितेपातीको धुप बनाउने तालिम सुरु

रामेछापको रामेछाप नगरपालिका–७ मा तितेपातीबाट धुप उत्पादन गर्ने सम्बन्धी तीनदिने तालिम सुरु भएको छ। स्थानीय स्तरमा उपलब्ध जडीबुटी तथा वनस्पतिको उपयोग गर्दै आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले स्थानीय स्रोत र साधनको सदुपयोग गरी स्वरोजगार सिर्जना गर्न यस्ता सीपमूलक तालिम प्रभावकारी हुने बताउनुभयो ।

वडा नं ७ का वडा अध्यक्ष समीर कार्कीले तालिम लिएपछि स्वरोजगार बन्न आग्रह गर्नुभयो । उत्पादन भएका चिजको बजार व्यवस्थापन नगर तथा वडाले गर्ने उहाँको भनाइ थियो ।

तालिममा सहभागीहरूलाई तितेपाती संकलन, प्रशोधन, धुप बनाउने विधि, प्याकेजिङ तथा बजार व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ।

तीन दिनसम्म सञ्चालन हुने तालिममा वडा भित्रका महिला तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको छ। तालिमबाट सहभागीहरूले तितेपातीबाट गुणस्तरीय धुप उत्पादन गर्न सक्ने सीप हासिल गर्ने र यसले स्थानीय उद्यमशीलता विकास तथा आयआर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय स्तरमा सहज रूपमा पाइने तितेपातीको व्यावसायिक उपयोगमार्फत रोजगारी तथा आत्मनिर्भरताको आधार निर्माण गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास नगरपालिकाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार