रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्र जोड्ने नयाँ पर्यटकीय पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको चार दिने अध्ययनले ‘दुहु–सुनापति डाँडा–शैलुङ ट्रेल’ लाई धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने निष्कर्ष निकालेको हो।
अध्ययन टोलीले सुनापतिका चिया बगान, लखपतिमाने डाँडा, सानो शैलुङ र ठूलो शैलुङ लगायतका क्षेत्रको अवलोकन गरेको थियो। तीन हजार मिटरभन्दा बढी उचाइमा रहेको शैलुङ क्षेत्र धार्मिक पर्यटन, पदयात्रा र साहसिक पर्यटनका लागि उपयुक्त मानिन्छ।
सुनापति गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङले पर्यटन विकासलाई गाउँपालिकाको प्राथमिकतामा राखिएको बताउनुभएको छ।
पर्यटन बोर्डका अधिकारीहरूले दिगो पर्यटन विकासका लागि वातावरण, संस्कृति र सम्पदा संरक्षणलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।
स्थानीय व्यवसायीका अनुसार शैलुङ क्षेत्रमा हाल मासिक तीनदेखि चार हजारसम्म पर्यटक पुग्ने गरेका छन्। अध्ययनले रामेछाप र दोलखालाई जोड्ने नयाँ पर्यटकीय पदमार्ग विकासको आधार तयार गरेको विश्वास गरिएको छ।


