नेपाली सेनाको मध्यपूर्वी पृतना अन्तर्गतका हिमाली र पहाडी जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा एकल महिलाहरूको सहभागितामा ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ को अन्तिम चरण रामेछापमा सम्पन्न भएको छ ।
‘सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनको मुख्य केन्द्र रामेछापको खड्गदल गणमा बलाधिकृत रथी प्रदिपजंग केसीले नेतृत्व गर्नुभएको थियो । सम्मेलनमा यो क्षेत्रका करिब ६ हजार ५०० अवकाश प्राप्त सैनिक र उनीहरूका परिवारको उपस्थिति थियो ।
सम्मेलनका अवसरमा १०२ वर्षीया एकल महिला नरमाया कार्कीलाई ‘ज्येष्ठ शताब्दी महिला’ का रूपमा विशेष अभिनन्दन गरिएको छ । यस्तै, आफ्ना चार सन्तानलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने चार जना अभिभावक, ज्येष्ठ भूतपूर्व सैनिक र उत्कृष्ट उद्यमीहरूलाई पनि प्रशंसा–पत्र र पुरस्कार वितरण गरिएको छ । फरक क्षमता भएका २४ जना भूतपूर्व सैनिकहरूलाई ह्विलचेयर र बैसाखी समेत प्रदान गरिएको छ ।
नेपाली सेनाले यस प्रकारको कार्यक्रमले सेवारत र अवकाश प्राप्त सैनिकहरूबिचको सम्बन्ध प्रगाढ बनाउने विश्वास लिएको छ। सम्मेलनमार्फत सङ्कलित सुझावहरूले कल्याणकारी कोषको सेवालाई शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा थप प्रभावकारी बनाउन मद्दत पुग्ने सेनाले जनाएको छ।
यससँगै आर्थिक वर्ष २०८२÷०८३ का लागि तय गरिएका भूतपूर्व सैनिक सम्मेलनका शृङ्खलाहरू औपचारिक रूपमा सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


