रामेछाप अस्पताल रामेछापको अस्पताल व्यवस्थापन समितीको अध्यक्षमा पुनः यम कुमार पाख्रिन नियुक्त हुनुभएको छ । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीपरिषदको यहि पौष ७ गतेको निर्णय अनुसार रामेछाप अस्पताल रामेछापको अस्पताल व्यवस्थापन समितीको अध्यक्षमा पाख्रिनलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस भन्दा अघि पनि पाख्रिनले अस्पताल व्यवस्थापन समितीको अध्यक्ष भएर काम गरिसक्नु भएको छ । उहाँले अस्पतालको विकास र सेवाहरु थप गर्नमा महत्वोपुर्ण भुमिका निर्वाह गर्नुभएको छ ।
फेरि पनि अस्पताल व्यवस्थापन समितीको अध्यक्षको जिम्मेवार पाउँदा खुशी लागेको उहाँले बताउनुभयो । अघिल्लो पटक चाहेर पनि गर्न नसकेको कामलाइ यो पटक मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने उहाँले बताउनुभयो । सरकारले ५० वेडको अस्पताल बनाउने घोषणा गरेको लामो समय भएपनि कार्यन्वयन नभएको भन्दै उहाँले यो कार्यान्वयन गराउनमा आफु लागिपर्ने बताउनुभयो । अस्पतालमा विशेषज्ञ सहितको सेवा प्रवाहलाइ निरन्तरता दिँदै थप सेवाहरु भित्र्याउनमा आफुले काम गर्ने अध्यक्ष पाख्रिनले बताउनुभयो । अस्पतालको समग्र विकासमा आफु लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।