दसैँ तिहार बिदामा पनि महाकाली आधारभूत विद्यालयमा नियमित कक्षा सञ्चालन

दसैँ तिहार बिदामा पनि महाकाली आधारभूत विद्यालयमा नियमित कक्षा सञ्चालन

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयले दसैँ तिहारको बिदामा पनि नियमित कक्षा सञ्चालन गरिरहेको छ । विद्यार्थीहरुलाई लामो बिदा दिँदा उनिहरुको पढाइ कमजोर हुने हुँदा विद्यालयमा नियमित कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक राम बहादुर घिसिङ्गले जानकारी दिनुभयो ।

यो विद्यालयले हिउँदे तथा बर्खे बिदामा समेत नियमित कक्षा संचालन गर्ने गरेको छ । वडा कार्यालयले गत वर्ष शैक्षिक भ्रमणमा लगेपछि असल र राम्रो अभ्यास गरिरहेका विद्यालयहरुबाट प्रभावित भएर आफ्नो विद्यालयमा पनि धेरै सुधारका कामहरुको सुरुवात भएको प्र.अ घिसिङ्गले बताउनुभयो ।

शैक्षिक गुणस्तर सुधार गर्ने मुख्य जिम्मेवारी शिक्षककै भएका कारण आफुहरु विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने अभियानमा लागिपरेको उहाँको भनाई छ । यो विद्यालयले शनिबार मात्रै बिदा दिने गरेको छ । शनिबार बाहेकका अन्य कुनै पनि सार्वजनिक बिदामा विद्यालय बन्द नहुने प्र.अ घिसिङ्गले बताउनुभयो ।

विद्यालयले हप्ताको ५ दिन शुक्रबार बाहेक अन्य दिन बिहान ८ बजेदेखी दिउँसो ५ बजेसम्म नियमित कक्षा संचालन गर्दै आएको छ । बिदाको दिनहरुमा पनि नियमित कक्षा संचालन गर्दा विद्यार्थीको पढाईमा उल्लेख्य सुधार आएको छ । नगरपालिकामा रहेका केही नमुना विद्यालयहरुको भन्दा यस विद्यालयको नतिजा राम्रो रहेको प्र.अ घिसिङ्गको भनाई छ ।

जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरू दसैँ बिदाबाट खुलेका छैनन् । अधिकांश सामुदायिक विद्यालयहरू दसैँ बिदाबाट तिहार पछिको बिदापछि मात्रै खुल्ने गरेका छन् । लामो समय विद्यालय बिदा हुँदा बालबालिकाको पढाई बिग्रने गरेको अभिभावकहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार