रामेछापमा यो वर्ष पनि मकै बालीमा फौजि किराको प्रकोप

रामेछापमा यो वर्ष पनि मकै बालीमा फौजि किराको प्रकोप

फौजी किराको प्रकोप बढेपछि रामेछापका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा लगाएको मकै बालीमा फौजी किराले क्षति पु¥याएको छ । किराको हुलले मकैको पात, गुभा र डाँठ समेत खाएपछि मकैबाली नै सखाप हुने हो कि भन्ने चिन्ताले किसानलाई सताएको छ । जिल्लाका धेरै जसो स्थानमा फौजी किराको प्रकोप देखिएको छ ।

जोत्ने बेला भएको मकैमा किराकोे प्रकोप देखिएको रामेछाप नगरपालिका ७ का किसान गोपाल महताराले बताउनुभयो । गत वर्षहरुमा पनि दुःख दिएको फौजि किराले यस वर्षपनि नछोडेको उहाँको भनाई छ । गत वर्षहरुमा वडाले विषादी वितरण गर्दा किरा नियन्त्रणमा आएको बताउनुभयो । यस वर्ष पनि वडाले विषादी वितरण गरे किसानलाई राहत हुने उहाँको भनाई छ ।

धेरै किसानले फौजि किरा नियन्त्रण गर्न विषादी किनेर छिटेको बताएका छन । गत वर्षहरुमा नगरपालिकाले निशुल्क विषादी वितरण गर्दा किरा नियन्त्रणमा सहयोग पुगेको भएपनि यस वर्ष आफैले विषादी खरिद गर्दा निकै महंगो पर्न गएको किसानको गुनासो छ ।

रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेलले यस वर्ष नगरपालिकाले फौजि किरा नियन्त्रणका लागी विषादी वितरण नगर्ने बताउनुभयो । गत वर्षहरुमा नगरपालिकाले निशुल्क विषादी वितरण गरेको भएपनि यस वर्ष बजेट नछुट्याइएको कारण विषादी वितरण गर्न नसकिएको उहाँको भनाई छ ।

नगरपालिकाका केही वडाहरुले विषादी वितरणका लागी बजेट विनियोजन गरेको र वितरणको कार्य समेत भइरहेको उहाँको भनाई छ । हरियो रहर लाग्दो मकैको बोट रातारात किराले नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार