रामेछाप नगरपालिकाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई माग पत्र

रामेछाप नगरपालिकाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई माग पत्र

रामेछापको रामेछाप नगरपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई माग पत्र बुझाएको छ । प्रधानमन्त्री प्रचण्डलाई रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले बुधबार सिन्धुलीको खुर्कोटमा भेटेरै माग पत्र बुझाउनुभएको हो ।

नगरपालिकाले प्रधानमन्त्रीलाई बुझाएको माग पत्रमा सेलेघाट रामेछाप साँघुटार सडक खण्डमा रहेको हटाउनु पर्ने घर टहरा र फलफूलजन्य वोट विरुवाहरुको निर्धारित मुआव्जा वापतको रकम यथाशिघ्र व्यवस्थापन गरिदिन माग गरिएको छ । सुनकोशी मरिण डाइभर्सन योजना सम्पन्न भएपश्चात सुनकोशी नदीसँग आश्रीत नगरपालिकाको वडा नं ९,८,७ र ५ का समुदायको खेतियोग्य जमिन, खानेपानी र सिचाईको दीर्घकालिन उचित व्यवस्थापन गरिदिन माग गरिएको छ ।

साथै माग पत्रमा रामेछाप नगरपालिकाभित्रका सवै वडाहरुमा भएको भिषण आगलागीका कारण घर संरचना लगायत ठुलो धनजनको क्षति र करीब ४० हजार मीटर खानेपानी तथा सिचाइका पाइपहरु जलेर नष्ट भएकोले धनजनको क्षति वापत राहत तथा पुनर्स्थापना, खानेपानी तथा सिचाइको लागी पाइपहरु र लिफट खानेपानी मेसिनको यथाशिघ्र व्यवस्थापन गरिदिन एक पत्र मार्फत माग गरिएको जनाइएको छ ।

रामेछाप नगरपालिकाका प्रवक्ता एवं समिर कार्कीले हस्ताक्षर गर्नुभएको एक विज्ञप्ती मार्फत सो कुराको जानकारी गराइएको छ । नगरपालिकाको पत्र बुझदै प्रधानमन्त्री प्रचण्डले कुनै प्रतिक्रिया भने नजनाउनुभएको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार