रामेछापका युवाले सुरु गरेको उद्योगलाई स्थानीय सरकारले सहयोग गरेन

रामेछापका युवाले सुरु गरेको उद्योगलाई स्थानीय सरकारले सहयोग गरेन

रामेछापका युवा फोहोरबाट मोहोर बनाउने अभियानमा जुटेका छन् । प्रयोग गरिसकेको कागजजन्य वस्तुलाई अण्डा राख्ने क्यारेट बनाएर बजार क्षेत्रको सरसफाई र आर्थिक उपार्जनको अभियानमा उनीहरू लागेका हुन् । स्थानीय नागरिकलाई रोजगारीसमेत दिन सफल उद्योगलाई अहिले भने बजारमा प्रतिस्पर्धा गर्न समस्या भएको छ ।

रामेछापको सहरी क्षेत्रमा फालिएका कागजजन्य फोहोर जम्मा गरेर त्यसलाई पुनः प्रयोग गर्ने उद्देश्यले केही युवाहरूले उद्योग स्थापना गरेका थिए । जिल्ला सफा राख्ने र केहीलाई रोजगारी दिएर आर्थिक उपार्जनको योजना बनाइएको थियो । सुरुमा राम्रै बजार पाएको उद्योगमा पछिल्लो समय विद्युत नियमित नहुने र भारतीय क्यारेटसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको छ ।

उद्योगका सञ्चालक सुनिल रायमाझीले स्थनीय पालिका र सरकारी निकायको सहयोगको याचना गरे पनि पर्याप्त सहयोग नपाउँदा समस्या भएको बताउनुभयो । ग्रीन हाइलाइट नेपाल उद्योगमार्फत प्रयोग गरिसकेको कागज प्रति किलो १० रुपैयाँमा खरिद गरेर त्यसलाई अण्डाको क्यारेट बनाएर बिक्रि गर्ने यो उद्योगबाट १५ जनाले रोजगारीसमेत पाएका छन् ।

उद्योग स्थापना हुनुभन्दा अघि आफ्नो घर तथा पसलबाट उत्सर्जन हुने फोहोर उठाउने संस्थालाई पैसा दिनुपथ्र्यो । तर यो उद्योगले पैसा दिएर फोहोर सङ्कलन गर्दा स्थानिय व्यापारी पनि खुसी छन् । स्थानिय तहमा उत्पादन हुने वस्तुको प्रयोगमा सम्बन्धित पालिकाले प्राथमिकता दिनुपर्ने माग उद्योगमा संलग्न युवाहरूको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार