रामेछापका जुनार कृषकलाई रोग किरा नियन्त्रणको लागी विषादी वितरण

रामेछापका जुनार कृषकलाई रोग किरा नियन्त्रणको लागी विषादी वितरण

रामेछाप जुनारका लागि प्रसिद्ध जिल्ला हो । यहाँ जुनार खेती गदै आएका कृषकलाई रोग किरा नियन्त्रणको लागी विषादी वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ रामेछापको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लागत सझेदारीमा विषादी वितरण गरिएको हो ।

रामेछाप नगरपालिकामा आज(बिहिबार) एक कार्यक्रमको आयोजना गरी कृषकलाई विषादी प्रयोग सम्बन्धी अभिमुखीकरण सहित विषादी वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ रामेछापका प्रमुख थिरलाल गैरेले बताउनुभयो । निलोतुथो,चुना,मिनिरल तेल,रोगर,स्टिकर,पहेलो पासो,एग्रीनीम,सर्वो एटसोओ लगायतका विभिन्न प्रकारका विषादी वितरण गरिएको हो ।

विषादी वितरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापाले नेपालमै सबैभन्दा धेरै जुनार खेती र उत्पादन हुने जिल्ला रामेछाप भएपनि प्रचार प्रसारको कमीले पछि परेको बताउनुभयो । संघ,प्रदेश र स्थानिय तिनै तहको सरकारले यहाँका किसानलाई सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरेले अब जुनारको ब्रान्डिङ्ग,लेबलिङ्ग,प्याकेजिङ्ग र बजारीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । जुनारको लागी रामेछाप जिल्ला निकै प्रसिद्ध भएपनि सिन्धुलीको जुनार भनेर देशका विभिन्न ठाउँमा रामेछापकै जुनार बिक्रि वितरण हुँदै आएको बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रबक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले जुनारमय रामेछाप बनाउन जरुरी रहेको बताउनुभयो । कृषकले उत्पादन गरेको जुनारको बजारीकरणको जिम्मेवारी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले लिएर काम गर्न सके कृषकले फाईदा लिने बताउनुभयो ।

रामेछापका अगुवा जुनार कृषक शेर बहादुर तामाङ्गले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइले जुनार जोन क्षेत्र घोषणा गरेर काम थालेदेखी जुनारमा लाग्ने विभिन्न रोग किराहरु पनि नियन्त्रण भएको र जुनार उत्पादन पनि बढेको बताउनुभयो । रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, सुकाजोर, रामपुर, हिमगङ्गा लगायत ठाउँका किसान जुनार खेतीमा आबद्ध छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार