न्युनतम सेवा मापदण्डमा जिल्ला अस्पताल रामेछाप देशभरमै तेस्रो हुन सफल

न्युनतम सेवा मापदण्डमा जिल्ला अस्पताल रामेछाप देशभरमै तेस्रो हुन सफल

न्यूनतम सेवा मापदण्ड पुरा गर्ने देशभरका सरकारी अस्पतालमा जिल्ला अस्पताल रामेछाप तेस्रो हुन सफल भएको छ । देशभरका १५ शैया अस्पतालहरुमध्ये जिल्ला अस्पताल रामेछापले तेस्रो स्थान प्राप्त गरेको हो । जिल्ला अस्पताल बैतडी ९३ प्रतिशत अंक पाएर पहिलो,चौतारा अस्पताल सिन्धुपाल्चोक ९२ प्रतिशत अंक पाएर दोस्रो र जिल्ला अस्पताल रामेछाप ९१ प्रतिशत अंक पाएर तेस्रो हुन सफल भएको हो ।

विभिन्न सूचकका आधारमा मापन गरिँदा जिल्ला अस्पतालले ९१ प्रतिशत अंक पाएको हो । यो विगतको तुलनामा सुधारोन्मुख अंक हो । एक वर्ष अघिको मापन अनुसार ८७ प्रतिशत अंक रहेको अस्पतालले विगतको तुलनामा आफ्नो सेवालाई सुधार गर्दै लगेको छ । अस्पतालले २०७७ मा ६८ प्रतिशत,२०७८ मा ५७ प्रतिशत,२०७९ मा ८७ प्रतिशत र २०८० मा ९१ प्रतिशत अंक पाएको हो ।
स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको आयोजना तथा जिल्ला अस्पताल रामेछापको सहकार्यमा भएको एक कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

यसको मुल्याङ्कन स्वास्थ्य निर्देशनालयले गर्दछ । अनुगमनको क्रममा अस्पतालको भवन, फोहोर व्यवस्थापन,औषधिको व्यवस्थापन, बिरामी उपचार,सेवा प्रवाह लगायतका सूचकमा अस्पतालले राम्रो अंक पाएको अनुगमन टोलीका संयोजक एवं बकुलर रत्ननगर अस्पताल चितवनका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर मदन ज्ञावलीले बताउनुभयो । जिल्ला अस्पताल रामेछापले पछिल्लो विगत केही वर्ष यता सेवा प्रवाह र गुणस्तरमा सुधार गरेकै कारण अस्पताल देशभरमै तेस्रो हुन सफल भएको वरिष्ठ हार्डजोर्नी विशेषज्ञ डाक्टर दिपेन्द्र पाण्डेले बताउनुभयो ।

जिल्ला अस्पतालले गरेका कामहरुको बारेमा अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर केशव श्रेष्ठले जानकारी गराउनुभयो । उहाँले आफुले मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी सम्हालेपछि अस्पतालमा धेरै परिवर्तन आएको बताउनुभयो । उहाँले न्युनतम सेवा मापदण्डमा अझ सुधार गर्दै जाने बताउनुभयो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जिल्ला अस्पताल रामेछापलाई नगरपालिकाले धेरै सहयोग गरेको बताउनुभयो । आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले अस्पतालको विकासका लागी आफु सकृय भएर लागि परेको बताउनुभयो । अहिले अस्पतालमा धेरै सेवाहरु थप भएको भन्दै उहाँले सेवाग्राहीहरुलाई गुणस्तरीय र भरपर्दो सेवा लिन जिल्ला अस्पतालमा आउन आग्रह गर्नुभयो । १५ शैयाको अस्पताल ५० शैयामा स्तरउन्नति भएको र अब छिट्टै कार्यान्वयनमा आउने बताउँदै अध्यक्ष पाख्रिनले अझै विभिन्न सेवा तथा सुविधाहरु थप गर्नका लागी मन्त्रालयमा पहल भैरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार