रामेछापको टार गाउँमा २६ वटा घर गोठ जल्दा एक करोड ८६ लाख बढीको क्षति

रामेछापको टार गाउँमा २६ वटा घर गोठ जल्दा एक करोड ८६ लाख बढीको क्षति

बिहिबार दिउँसो रामेछापको रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा भएको भिषण आगलागीबाट २६ वटा घर गोठ जलेर नष्ट हुँदा एक करोड ८६ लाख बढीको क्षति भएको छ । आगोलागिबाट १२ घरपरिवारका ८५ जना विस्थापित भएका छन् । हरदेनि सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा यति धेरै क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आगलागिबाट एक करोड ८६ लाख ३१ हजार बराबरको क्षति भएको छ । बनमा लागेको डढेलो हावाहुरीका कारण बस्तीमा छिरेको थियो । आगोले स्थानीयको घर गोठ र पशुचौपायाको क्षति धेरै क्षति गरेको छ । आगोलागिबाट स्थानीय महेशलाल तामाङको ३ लाख ७५ हजार,नर बहादुर तामाङको ३ लाख, सर्किनी तामाङको २ लाख ७५ हजार, धन बहादुर तामाङको चार लाख ५० हजार, पूर्ण बहादुर तामाङको २१ लाख ८५ हजार, धनमाया श्रेष्ठको ५१ लाख ५ हजार, रमेश श्रेष्ठको १५ लाख ९५ हजार, उत्तरकुमारी श्रेष्ठको ३१ लाख २४ हजार, सिताराम नेवारको १६ लाख ७० हजार, मीन बहादुर नेवारको ६ लाख, मानकुमारी नेवारको २७ लाख १२ हजार र बम बहादुर श्रेष्ठको १५ लाख १० बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

घर भित्र रहेको धनमाल,अन्नपात,लत्ताकपडा सबै जलेर खरानी भएको हो । गोठमा बाँधिएका भैँसी,गोरु र ५० वटा भन्दा बढी खसी,बाख्रा आगोले जलेर मरेका छन । बस्ने घर,खाने अन्न र ओढ्ने कपडा सबै जलेर खरानी भएपछि उनिहरु निकै पिँडामा छन । बाग्लो बस्ती रहेको टार गाउँका अधिकांश घरहरु जलेको अवस्थामा छन । आगोलागीबाट मानविय क्षती नभए पनि भौतिक र पशु चौपायामा धेरै क्षती भएको छ ।

अग्नी पीडितलाई जिल्ला विपद् व्यवस्थापन रामेछापकी संयोजक तथा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले शुक्रवार तत्कालको लागि आवश्यक पर्ने खाद्यान्न तथा पाल लगायत अति आवश्यक सामाग्री वितरण गर्नुभयो । रामेछाप नगरपालिका र मन्थली नगरपालिकाले पनि अग्नि पीडितलाई आफ्नो स्थानीय तहको तर्फबाट छुट्टा छुटै भेटेर आवश्यक खाद्यान्न लगायतका सामाग्री वितरण गरेको छ । अन्य विभिन्न निकाय,संघसंस्था तथा व्यक्तिहरुले पनि अग्नि पीडितलाई सहयोग गर्ने क्रम जारी रहेको वडा नं ९ का वडाअध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार