जिल्ला अस्पताल रामेछापको शैया भरियो बिरामीले

जिल्ला अस्पताल रामेछापको शैया भरियो बिरामीले

केही दिनदेखी जिल्ला अस्पताल रामेछापको बेड बिरामीले भरिभराउ भएको छ । ४ दिनदेखी अस्पतालमा बेड भर्ना हुने बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ड डाक्टर केशव श्रेष्ठले बताए । “१५ शैयाको अस्पतालको सबै शैयाहरु बिरामीले भरिएको छ”,उनले भने । बिरामीहरु थप हुन सक्ने भएकाले केही शैया थप गरेर व्यवस्थापन मिलाइएको डा श्रेष्ठले बताए । अहिले अस्पतालमा ज्वरो,निमोनिया र दमका बिरामीहरु धेरै बढेको उनको भनाई छ ।

उनका अनुसार ओपिडीमा पनि दैनिक एक सयको हराहारीमा बिरामीहरु उपचारको लागी आउने गरेका छन । सरकारी स्वास्थ्य संस्थाको गुणस्तर गतिलो नहुने भन्दै उपचार र स्वास्थ्य परीक्षणका लागि नीजि अस्पताल र क्लिनीकमा जाने क्रम बढ्दो छ तर जिल्ला अस्पताल रामेछापले पछिल्लो समय बिरामीको मन जित्ने गरी काम गर्न थालेको हो ।

रामेछाप नगरपालिका ७ का शिव बस्नेतले अस्पतालले सेवाहरु थप गरेसँगै बिरामी भएर काठमाण्डौँ जानुपर्ने बाध्यता हटेको बताए । “हामी सामान्य बिरामी हुँदा पनि राजधानीको अस्पतालहरुमा जानुपर्ने बाध्यता थियो । अहिले सबै सेवा यहि उपलब्ध छ,सहज रुपमा जिल्लाकै अस्पतालमा सेवा पाउँदा खुशी लागेको छ,”उनले भने । रामेछाप नगरपालिका ८ की शान्ति तामाङले बच्चालाई निमोनिया भएर अस्पताल भर्ना गरेकी छन ।

४ दिनदेखी आफ्नो बच्चालाई अस्पताल भर्ना गरिएको बताउँदै उनले अस्पतालका चिकित्सकहरुको राम्रो व्यवहार र गुणस्तरीय सेवाले नै अस्पताल प्रती विश्वास बढ्दै गएको बताइन् । पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवा पाउन थाले पछि जिल्ला अस्पताल रामेछापमा सेवाग्राही बढ्न थालेका छन् । भौतिक संरचना र उपकरणका साथमा विभिन्न विशेषज्ञ सेवा पनि थप भएसँगै अस्पतालको सेवा राम्रो भइरहेको रामेछाप नगरपालिका ७ का विष्णु महताराले बताए । उनका अनुसार अस्पतालप्रती नागरीकहरुको विश्वास बढदै गएको छ ।

अस्पतालमा आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सेवा सुरु भएदेखि प्रसुती सेवा लिनेको संख्या समेत बढेको छ । ३ वर्ष अघिको तुलनामा अहिले प्रसुती सेवा लिनेको संख्या दोब्बरले बढेको अस्पतालका प्रसुती रोग विशेषज्ञ डाक्टर मनोज यादवले बताए । उनले भने,“१ सय भन्दा बढी महिलाहरुको शल्यक्रिया मार्फत बच्चा जन्माइएको छ ।

सबै शल्यक्रियाहरु सफल भएका छन । शल्यक्रिया गरिएका सबै आमा र बच्चाको अवस्था राम्रो छ । यो हाम्रो ठुलो सफलता हो ।” जिल्ला अस्पताल रामेछापमा अहिले आईसियू,भेन्टिलेटर,कल्चर सेवा,जनरल ओपीडीका साथै प्रसूति शल्यक्रिया, अक्सिजनसहितको स्वास्थ्य सेवा, डाइलसिसका साथै, हर्नियाँ, हाइड्रोसिल, दाँत र आँखाको उपचार सेवा, लगायतका स्वास्थ्य सेवा उपलब्ध छन् । अस्पतालले जनरल शैया समेत निःशुल्क गरेको छ । अहिले १५ शैयाको रहेको यो अस्पताललाई बाग्मती प्रदेश सरकारले ५० शैयाकोे बनाउने निर्णय समेत गरेको छ । अस्पताल ५० शैयाको हुने बित्तिकै अस्पतालले अन्य सेवाहरु थप गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार